April 18, 2026, Saturday
२०८३ बैशाख ५

कैलालीमा अटो दुर्घटना हुदाँ १० महिने बालकको मृत्यु, दुई जना घाइते

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा अटो दुर्घटना हुदाँ १० महिने बालकको ज्यान गएको छ। लम्कीचुहा नगरपालिका–१ भुरुवास्थित भित्री सडकखण्डमा अटो दुर्घटनामा परेर १० महिनाका बालकको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सुपप्र ०१–००१ ह ५१४८ नम्बरको ईबी अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका भरत साउँदका नाति आयुष साउँदको मृत्यु भएको जानकारी दिएको हो।

दुर्घटनापछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। अटोमा सवार लम्कीचुहा नगरपालिका–१ निवासी ४२ वर्षीय प्रकाश गिरी र १३ वर्षीय टेकराज साउँद घाइते भएका छन्।

उनीहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्येसैगरी धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतवार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१२ प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक धनगढी–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताएका छन्।

उनकाअनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो। दुर्घटनामा घाईते भएका चौधरीलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषण गरेको सिंहले जानकारी दिए।

उनकाअनुसार स्कुटर पछाडि सवार धनगढी–१२ बस्ने ३२ वर्षीया सिता कुश्मी घाइते भएकी छन्। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।