April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा ढुक्कका साथ लगानी गरौँ : परराष्ट्रमन्त्री डा.राणा

धनगढी । आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश सरकारले बुधबार धनगढीमा तयारी सम्मेलन (प्रि–समिट) आयोजना गरेको छ ।

पूर्वतयारीका क्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा प्रचुर सम्भावना रहेकोले लगानीकर्तालाई ढुक्कका साथ लगानी गर्न आव्हान गरेकी छिन् । परराष्ट्रमन्त्री राणाले सुदूरपश्चिम लगानीका लागि अथाह सम्भावना रहेकोले ढुक्कका साथ लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेकी हुन् ।

सुदूरपश्चिममा लगानीका लागि हाइड्रोपावर, पर्यटन, कृषिलगायतका क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले भनिन्,‘सुदूरपश्चिम आफैमा सुन्दर छ, यस क्षेत्रका जनताहरु पनि इमान्दार र विकास प्रेमी छन् । लगानीको प्रतिफल सहजै पाउन सकिन्छ । तसर्थ लगानीकर्तालाई सुदूरपश्चिममा ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु ।’

विकाससँगै शान्ति अनिवार्य हुने भएकाले शान्तिका लागि राजनीतिक प्रतिवद्धता जरुरी रहेको बताउँदै उनले भनिन,‘देशमा शान्तिविनाको विकास कल्पना गर्न सकिँदैन, तसर्थ नेपालमा फरक वैचारिक धारका राजनीतिक दलहरु शान्ति र राजनीतिक स्थिरताका लागि एकै ठाउँमा उभिएका छौँ ।’

पछिल्लो समयमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारका कारण देशमा शान्ति र राजनीतिक स्थिरता कायम भएको र जसका कारण लगानी गर्ने वातावरण सिर्जना हुँदै गएको उनले बताइन् ।

परराष्ट्रमन्त्री राणाले पछिल्लो समयमा पहाडी जिल्लाहरुमा विकासले गति लिए पनि बढ्दो बसाइँ सराइँका कारण बस्तीहरु खाली हुन थालेको प्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन्,‘पहाडी जिल्लामा एकीकृत बस्ती विकासको खाँचो छ, जसका कारण पहाडलाई सुन्दर र व्यवस्थित बनाउन सकिन्छ ।’

तयारी सम्मेलनमा बोल्दै मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायलाई सुदूरपश्चिममा लगानीका लागि आग्रह गरे । ‘हामीसँग विगतको गौरव त छँदैछ, भविष्यको सम्भावनालाई पनि स्वागत गरिरहेका छौं,’ उनले भने, ‘सुदूरपश्चिम भविष्यको सम्भावनालाई नियालिरहेको छ । सुदूरपश्चिमका हरेक नागरिकका आँखामा विकासको उज्यालो सपना छ ।’

लगानी तथा विकास सम्मेलन सुदूरपश्चिमेलीको साझा सम्मेलन हुने बताउँदै मुख्यमन्त्री कमल बहादुर शाहले अहिले सुदूरपश्चिमको परिचय बदलिएको बताए । ‘हिजो पछौटेपनको कुरा मात्र गर्थ्यौं, आज सम्भावना र अवसरको कुरा गर्दै विकासका ढोकाहरू खोल्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।

तीनवटै सरकारबीच सहकार्य बढाउँदै सुदूरपश्चिममा रहेको अपार सम्भावनालाई विश्वसामु उजागर गर्न लगानी तथा विकास सम्मेलन कोशेढुंगा साबित हुने मुख्यमन्त्री शाहको भनाइ थियो ।

लगानी प्रवर्द्धन, दिगो साझेदारीको अवधारणासहित सरकारले कृषि, पर्यटन, पूर्वाधार विकास, ऊर्जा, मानवपुँजी, सूचना तथा प्रविधि र सेवा क्षेत्र विभाजन गरी लगानीका लागि आह्वान गर्ने भएको छ । ‘ट्याक्स होलिडे, अनुदान, भूमि व्यवस्थापन, एकद्वारा प्रणाली र प्रोजेक्ट बैंक निर्माण गरेर कार्यान्वयन अघि बढाउन लागिएको छ,’ मुख्यमन्त्री शाहले थपे ।

जलविद्युत‍्को भण्डार मानिएको सुदूरपश्चिमलाई विद्यमान बहुआयामिक गरिबीको सूचकबाट माथि उठाउनैपर्ने मुख्यमन्त्रीको भनाइ थियो । ‘धार्मिक पर्यटनको सम्भावना र यहाँका मौलिक संस्कृतिले समृद्धि नियालिरहेको अवस्था छ,’ उनले भने, ‘यो मौकालाई हामी छोप्न चाहन्छौं ।’ लगानी अनुकूल वातावरण सिर्जना गर्न नीति, कानुन तथा कार्यविधि निर्माण प्रक्रियामा सरकार, सबै राजनीतिक दल, निजी क्षेत्र, विज्ञ तथा नागरिक समाजको हातेमालो रहेको मुख्यमन्त्री शाहको भनाइ थियो ।

तयारी सम्मेलनमा नेपाल सरकारका संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले लगानी सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै सुदूरपश्चिम विकासका सम्भावनाले भरिभराउ भएको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्भावनाका कुरा मात्रै नगरी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । ‘सुदूरपश्चिममा सम्भावना छ, तर पर्याप्त लगानी गर्न नसक्दा कयौं युवाहरु बेरोजगार बस्नु परेको छ,’ उनले भने,‘तसर्थ यस क्षेत्रमा पर्याप्त मात्रामा उद्योगमा लगानीको खाँचो छ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु, अस्ट्रेलिया र बेलायतका राजदूत, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवाली, विश्व बैंक, यूएनडीपी, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न उद्योगी, पर्यटन व्यवसायीहरु,लगायतका प्रतिनिधिहरूको उपस्थिति थियो ।