सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारीको सांसद पद निलम्बन, पत्र पुग्यो प्रदेश सभामा

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको सांसद पद स्वतः निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसंगै सोडारीको सांसद पद स्वतः निलम्बनमा परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँको बिगो मागदाबी लिएर भ्रष्टाचार सम्बन्धी कसुरमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै उनी प्रदेश सदस्य पदबाट स्वतः निलम्बनमा परेका हुन् ।
पूर्वमुख्यमन्त्री सोडारी सांसद पदबाट स्वतः निलम्बन भएको पत्र प्रदेश सभा सचिवालयमा समेत आइपुगेको छ । अख्तियारले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा आज दायर गरेको थियो ।
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका सोडारी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ मा मुद्वाको किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्थाअनुसार सांसद पनि निलम्बनमा परेको हो । उक्त जानकारीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिमका सभामुखलाई पत्र पठाएको हो ।
सभामुख भीमबहादुर भण्डारीले अख्तियारको पत्र प्राप्त भएको जानकारी दिए । ‘सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वतः निलम्बन हुने व्यवस्था रहेको जानकारीसहित पत्र प्राप्त भएको छ,’ सभामुख भण्डारीले भने, ‘प्रदेशसभा बैठक सञ्चालन भएको दिन सोडारीको सांसद पद निलम्बनमा परेको जानकारी दिन्छौं ।’
अख्तियारले विशेषमा दायर गरेको आरोपपत्रमा कैद र जरिवाना पनि मागदाबी गरेको छ । यस्तै सोडारी सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री भइसकेको व्यक्ति भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन मागदाबी पनि गरिएको छ ।
अख्तियारले सोडारीका छोरा र श्रीमतीलाई सम्पती जफतका लागि प्रतिवादी बनाउन आरोपपत्रमा उल्लेख गरेको छ । सोडारी कैलाली क्षेत्र नम्बर ४ को प्रदेशसभा १ बाट एकीकृत समाजवादीबाट निर्वाचित सांसद हुन् । २०७४ को निर्वाचनमा पनि सोडारी सोही क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।
त्यो समय उनी सामाजिक विकासमन्त्री र भौतिक पूर्वाधार विकासमन्त्री भएका थिए । दोस्रोपटक प्रदेश सांसदमा विजयी भएपछि उनी गतवर्ष वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा काँग्रेस–एमालेको गठबन्धन बनेसँगै अल्पमतमा परेपछि साउन १८ गते सोडारीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका सोडारीको सांसद पद निलम्बन भएको पत्र सभामुख भण्डारीले प्रदेश सभाको बैठकमा पढेर सुनाएपछि प्रदेश सभा सदस्यको हैसियतमा उनले कुनै काम गर्न पाउने छैनन् भने प्रदेश सभा सचिवालयले तलब लगायतका सेवासुविधा पनि रोक्का गर्नेछ ।
प्रदेश सभाको बैठक अगामी २३ जेठमा बस्ने कार्यसूची रहेको छ ।





प्रतिकृया दिनुहोस्