May 3, 2026, Sunday
२०८३ बैशाख २०

देशभर सार्वजनिक यातायात ठप्प, व्यवसायीहरुले अटोरिक्सालाई समेत लगाए रोक

धनगढी । यातायात व्यवसायीहरुले आजदेखी देशभर सार्वजनिक यातायात ठप्प पारेका छन। व्यवसायीहरुले अटोरिक्सालाई समेत रोक लगाएका छन् ।

गण्डकीमा नीजि सवारीलाई सार्वजनिक यातायात जस्तै मान्यता दिइएपछि आन्दोलित बनेका व्यवसायीहरुले सार्वजनिक यातायातहरु बन्द गरेका हुन।

कैलालीको अत्तरियामा आजदेखी सार्वजनिक यातायातहरु बन्द गरिएको छ। अत्तरियामा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात मात्रै नभई अटोरिक्साहरु समेत बन्द गरेका हुन।

यात्रु बोकिरहेका सबै यातायातका साधनहरु बन्द गरिरहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालि अत्तरिया शाखाका ईन्चार्ज शिवराज भट्टराईले जानकारी दिए। उनले कालो नम्बर प्लेटका सवारी साधनहरु मात्रै नभई यात्रु बोकिरहेका सबै सवारी साधनहरु बन्द भैरहेको बताए। उनले निजि सवारी साधनहरुलाई भने आवतजावतमा कुनै रोक नभएको बताए।

भट्टराईका अनुसार यातायात व्यवसायीहरुको आन्दोलनलाई विभिन्न श्रमिक संघसंगठनले  समेत साथ दिएका छन। उनले माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

गण्डकीमा नीजि सवारीलाई सार्वजनिक यातायात जस्तै मान्यता दिइएपछि आन्दोलित बनेका व्यवसायीहरुले सार्वजनिक यातायातहरु बन्द गरेका हुन। सार्वजनिक यातायातहरु देशभरमै बन्द छन्।

गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले आजदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका थिए। घोषणा अनुरुप नै आजदेखि अनिश्चितकालसम्मका लागि यातायात सेवा बन्द रहने बताईएको छ।