सुदूरपश्चिम प्रदेशका यातायात ब्यवसायी आन्दोलित, लामो दूरीका यातायात ठप्प

धनगढी । सुदूरपश्चिम प्रदेशका यातायात ब्यवसायी आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै सुदूरपश्चिम प्रदेशमा रहेका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
व्यवसायीहरुले आइतबारदेखि लामो दूरीका सवारीसाधन ठप्प पारेका छन् । व्यवसायीहरुले जेठ १९ गते अर्थात् सोमबारदेखि सार्वजनिक यातायात पूर्ण रुपमा ठप्प पार्ने घोषणा समेत गरेका छन् ।
गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले यातायात व्यवसायीहरुले आज कालो पट्टी र सवारीसाधनमा कालो झण्डा लगाउने बताए ।
उनले निजि सवारी साधनले सार्वजनिक सवारी साधन सरह सञ्चालन गर्न पाउने व्यवस्थाको आफूहरुले विरोध गरेको बताउदै सार्वजनिक सवारी साधन सञ्चालनको विधि र आयातलगायतका विषयमा प्रदेश सरकारको ठोस नीति के हो ? उनले भन्ने प्रश्न गरे ।
गण्डगी प्रदेश सरकारले ल्याएको ऐन खारेज गर्नुपर्ने तथा विगतमा यातायात व्यवसायीसँग सरकारले गरेका सहमति, सम्झौताहरु कार्यान्वयन हुनुपर्ने माग आफूहरुको रहेको संयोजक जोशीको भनाइ छ ।
माग पूरा नभए सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्ने यातायात व्यवसायीहरुले घोषणा गरेका छन् । राज्यलाई लाखौँ रुपियाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धरासायी बनाउन खोजेको व्यवसायीहरुको आरोप छ ।





प्रतिकृया दिनुहोस्