April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/८३ विनियोजन विधेयक(बजेट)का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल सुरु भएको छ। शनिवार बसेको प्रदेशसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको हो।

आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले ‘आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गरेका थिए।

त्यसपछि उक्त प्रस्तावमाथिको छलफलमा प्रदेशसभाका सांसदहरू डम्मरी महरा, रमेशसिंह धामी, सन्तोषकुमारी शर्मा थापा, चक्रबहादुर मल्ल, इन्दिरा गिरी र माया पन्तले धारणा राखेका छन्।

यस्तै आजकै बैठकमा सरकारको नीति कायक्रमको सम्बोधनका लागि प्रदेश प्रमुख नजिर मियाँलाई धन्यवाद प्रस्ताव पनि पारित गरेको छ। शुक्रबार प्रदेशसभा बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो।