May 3, 2026, Sunday
२०८३ बैशाख २०

प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलले गरे अवरोध, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले अवरोध गरेका छन् । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको थियो । बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका हुन । सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउनासाथ विपक्षीहरूले उठेर विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।

बैठकअघि सत्तापक्षका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेता छलफलमा बसेका थिए । बैठकले गृहमन्त्रीको राजीनामा सम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै बैठकमा गृहमन्त्रीबाट जवाफ दिने निर्णय गरेको छ ।

भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन् । विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।