April 18, 2026, Saturday
२०८३ बैशाख ५

गभर्नर पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार पेसी तोकियो

काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् ।

यसको पेसी बुधबारका लागि तोकिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र पौडेललाई विपक्षी बनाएर रिट दर्ता भएको हो।

पौडेलको योग्यतामाथि प्रश्न गर्दै रिट दायर भएको हो। नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्त्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न नगराउन प्रतिषेध मिश्रित परमादेशको आदेश माग अधिवक्ताहरूले गरेका छन् । 

अधिवक्ता थापा र उप्रेतीले यसअघि पनि सर्वोच्चमा रिट दायर गरेका थिए। तर समाचारमा आएकै भरमा पौडेललाई गभर्नर बनाउन लागिएको विषयमा रिट ल्याएको भन्दै सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो।

गभर्नर पौडेलविरुद्धको रिटमाथि बुधबार पेसी तोकिएको अधिवक्ता उप्रेतीले जानकारी दिइन् । सरकारले अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ संशोधन गरेपछि अधिवक्तात्रयले उक्त संशोधन खारेजको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । 

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले गत वैशाख २ गते गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद संशोधन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त रिटसँगै गभर्नर नियुक्तिविरुद्धको रिट लगाउमा राखी बुधबार सर्वोच्चमा सुनुवाइ हुनेछ ।