आज बस्ने संसद बैठक अवरोध गर्ने तयारीमा प्रतिपक्ष दलहरू, गृहमन्त्री लेखकको राजीनामा माग

काठमाडौं । प्रतिपक्ष दलहरूले आज बस्ने संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । सोमबार बिहान बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले गृहमन्त्री लेखकमाथि चौतर्फी प्रश्न उठेकाले नैतिकताका आधारमा तुरुन्त राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।
‘नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी आवाज आइराखेको छ । कांग्रेसभित्रै राजीनामा मागेका छन् । हाम्रो पार्टीको पदाधिकारी बैठकले के निष्कर्ष निकालेको छ भने, राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,’ बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘ता कि पावर दुरुपयोग हुन नपाओस् । स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ । उहाँले तुरुन्त राजीनामा दिनुपर्छ । जति ढिलो भयो उति राज्यको साख गिर्दै जान्छ ।’
अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गृहमन्त्री र उनको सचिवालय नै यो प्रकरणमा संलग्न रहेको सार्वजनिक भइसकेपछि निष्पक्ष छानबिनका लागि राजीनामा दिन माग गरेको छ ।
रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्री लेखक विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । यसबमोजिम आजको संसद बैठक अवरोध गर्ने तयारी रहेको छ ।
कार्यवाहक प्रवक्ता मानिष झाले सोमबार सार्वजनिक गरेको केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ, ‘गृहमन्त्री र उनको सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भई पार्टीले यसअघि नै प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भन्ने दृष्टान्तअनुरुप ‘यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको सम्बन्धमा सदनमा यसको कार्यान्वयनका लागि आवश्यक प्रभावकारी कदम चाल्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले गृहमन्त्री मात्र नभई प्रधानमन्त्रीकै राजीनामा माग्ने तयारीमा छ । भ्रष्टाचारविरुद्ध विपक्षी विपक्षी दलहरू एकजुट रहेको स्पष्ट पार्दै उनले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीकै राजीनामा माग्ने बताए । साथै जेठ १५ गते राजावादीहरूले गर्न लागिएको विरोध प्रदर्शनविरुद्ध संविधानविपरीत सडक कब्जा गर्न प्रधानमन्त्री ओलीले कार्यकर्तालाई उक्साएको आरोपमा पक्राउ गर्नुपर्ने उनको भनाइ छ ।
‘भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओलीको समेत राजीनामा माग्ने पक्षमा छौँ । ओलीले संविधानविपरीत हाम्रो विरोध कार्यक्रम बिथोल्न आफ्ना कार्यकर्तालाई सडक कब्जा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीको राजीनामा मात्र नभई पक्राउ गर्नुपर्छ,’ शाहीले भने ।
सत्ता गठबन्धन दलहरूले गृहमन्त्री लेखकको राजीनामाको विषय उछालेर विपक्षी दलहरूले बजेट रोक्न खोजेको आशंका गरेका छन्।
संवैधानिक बाध्यताअनुसार सरकारले बिहीबार बजेट ल्याउनै पर्छ। तर, विपक्षी दलहरूले गृहमन्त्री नै मानव तस्करीमा संलग्न भएको भन्दै राजीनामा मागेका हुन ।
कांग्रेसले गृहमन्त्री लेखक निर्दोष रहेको निष्कर्ष निकाल्दै चोख्याउने प्रयत्न गरेको छ । बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’
यस्तै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेको शीर्ष बैठकले कुनै कर्मचारीले बदमासी गर्दैमा मन्त्रीले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको थियो ।
‘भिजिट भिसा’का नाममा सेटिङ गरेर विदेश जानेहरूबाट रकम असुल्ने गरेको आशंकामा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलसँगै सम्बन्धित निकायमा छापा मारेको थियो ।
मानव तस्करी गरेको आरोपमा गृहप्रशासन नै मुछिएपछि गृहमन्त्री लेखक चौतर्फी नैतिक दबाबमा छन् । अख्तियारले ट्राभल एजेन्सी, मेनपावर सञ्चालकको कार्यालयमा समेत छापा मारेर महत्वपूर्ण कागजात तथा डिजिटल डिभाइस जफत गरी अनुसन्धान भइरहेको अनुसन्धान अधिकारीले बताएका छन् ।
पदीय दुरुपयोग गरी विचौलियासँग मिलेर सेटिङ मिलाएको आशंकामा अख्तियारले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख (सहसचिव) तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिइएको थियो ।
सेटिङमा गृहप्रशासन मात्र नभई बिचौलियाको समेत पहुँच गृहमन्त्रीसम्म रहेको आशंकामा लेखक चौतर्फी प्रश्नको घेरामा परेका हुन् । उनले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख (सहसचिव) सुरेश पन्थीलाई हटाएर गत असोज २३ मा भट्टराईलाई जिम्मेवारी दिएका थिए । भट्टराईविरुद्ध अख्तियारमा उजुरी परेपछि गृहमन्त्री लेखकले जेठ ५ गते नै मन्त्रालय तानेका थिए ।
त्यसपछि पनि गृह मन्त्रालयले थप १४ जना कर्मचारीलाई सरुवा गरेको थियो । ‘भिजिट भिसा’को नाममा विदेश जानेबाट दैनिक ४० लाख रुपैयाँसम्म संकलन भएका समाचारहरू सार्वजनिक भएका छन् ।





प्रतिकृया दिनुहोस्