मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–३, निम्दीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट पैदल यात्री मान बहादुर चौधरीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार करिब पौने ८ बजेतिर सुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका करिब ५५ वर्षीय चौधरी गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो, तर उपचारका क्रममा पौने ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका हुन्।
मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–७ का २५ वर्षीय भरत बहादुर बम पनि दुर्घटनामा घाइते भएका छन्। उनको घोडाघोडी अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय लक्ष्मण बहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।





प्रतिकृया दिनुहोस्