तत्कालीन सभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही आफ्नै डेरामा मृत फेला

काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रकरणमा जोडिएकी रोशनी शाही आफ्नै डेरामा मृत फेला परेकि छन् । महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्याउने ५० बर्षिया रोशनी शाही आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् ।
श्रीमान् घरबाहिर भएको बेला उनी डेरा गरी बस्ने भक्तपुरको सूर्यविनायक- २ वृहस्पतिमार्गको घरमा मृत फेला परेकी हुन् । डेरामै रहेका श्रीमान् काम विशेषले कोठाबाहिर निस्किएका थिए । फर्किंदा भित्रबाट ढोका लागेको थियो । धेरै समय ढक्ढक्याउँदा पनि ढोका खुलेन ।
प्रहरी वृत्त, थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार स्थानीय जनप्रतिनिधिको रोहवरमा ढोका फोडेर हेर्दा उनी भुँइँमा लडेकी थिइन् । त्यसबेलासम्म उनको श्वासप्रश्वास बन्द भइसकेको थियो ।
शरीरमा कुनै पनि घाउचोट नभएको डीएसपी ढुंगानाले बताए । अत्यधिक मात्रामा औषधि सेवन गरी मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।
२०७६ असोज १२ गते साँझको समयमा तत्कालीन सभामुख कृष्णबहादुर महरा उनी बस्ने तीनकुनेस्थित डेरामा जाँदा झगडा भएको थियो । त्यसक्रममा महराको चस्मा फुटेको थियो ।
रोशनी संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी थिइन् । सोही घटनालाई लिएर उनले महराविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेकी थिइन् ।तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो।
महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको रोशनीको आरोप थियो । घटना सार्वजनिक भएपछि महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो भने लगत्तै पक्राउ परेका थिए ।
महराले जबर्जस्ती करणीको प्रयास गर्दा आफूले प्रतिकार गरेको भन्दै उनले आफूलाई निर्घात कुटपिट गरेपछि कराएकोमा कोठाबाट भागेको जाहेरी दिएकी थिइन् । उक्त मुद्दामा महरालाई काठमाडौं जिल्ला अदालतले २०७६ फागुन ५ गते प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो ।
पीडित भनिएकी रोशनीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दासमेत आफूमाथि बलात्कार प्रयासको आरोप खण्डन गरेकी थिइन् । उनको इन्कारी निवेदन र बकपत्रमा महरा आफ्नो कोठामा नआएको लेखेकी थिइन् । त्यही तथ्यमा टेकेर जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो ।





प्रतिकृया दिनुहोस्