April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढीको बेहडाबाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा मेला लाग्दै

धनगढी । धनगढीको बेहडा बाबा मन्दिरमा जेठ २१ गतेबाट गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने भएको छ। धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहडा बाबामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्दै आएको हो।

यो वर्ष जेठ २१ गतेदेखि २५ गतेसम्म गंगा दशहरा पूजा तथा धार्मिक मेला लाग्ने बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समितिले जनाएको छ। बेहडा बाबा मन्दिरमा गंगा दशहराका बेला ठूलो सङ्ख्यामा भारतबाट समेत श्रद्धालु भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन्।

गंगा दशहरा पूजा तथा धार्मिक मेला सफल रूपमा सञ्चालनका लागि बेहडा बाबा मन्दिर व्यवस्थापन सेवा समिति तयारीमा जुटेको छ। मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष नरेन्द्र शाहको संयोजकमा मन्दिर पूजा तथा लाइन व्यवस्थापन समिति गठन गरिएको छ।

यस्तै समितिका सचिव वीरेन्द्र चन्दको संयोजकमा खानेपानी तथा विधुत व्यवस्थापन समिति गठन गरिएको छ। मन्दिर व्यवस्थापन समितिका सदस्य कृष्ण चन्द रानाको संयोजकमा मेस व्यवस्थापन समिति गठन गरिएको छ।

धनगढी उपमहानगरपालिका–१६ का अध्यक्ष रामलाल चौधरीको संयोजकमा अनुगमन तथा सुरक्षा व्यवस्थापन समिति गठन गरिएको छ। मन्दिर व्यवस्थापन समितिका सदस्य रमेशप्रसाद भट्टको संयोजकमा स्वयम् सेवक परिचालन समिति गठन गरिएको छ। मन्दिर व्यवस्थापन समितिका सदस्य तिलक बहादुर बोहराको संयोजकमा प्रचारप्रसार समिति गठन गरिएको छ।

गंगा दशहरा मेला २०८२ लाई सभ्य बनाउन चार किल्ला निर्धारण गरिएको छ। उत्तरमा इमली चोक (रामपुर) दक्षिणमा ब्युसाहा चोक तथा उर्मा जंगल, पूर्वमा कुण्डी टोल (घुरहा नदी) र पश्चिममा शिवगंगा नदी सीमा निर्धारण गरिएको छ।

तोकिएको चार किल्ला भित्र अस्थायी प्रकृतिका टहरामा माछा, मासु तथा मदिराजन्य पदार्थ विक्रि वितरणमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ। निर्णयको उलंघन गरेको पाइएमा व्यवसायीलाई १० हजारसहित सामान जफत र मेला क्षेत्रमा मादक पदार्थ तथा लागु औषध सेवन गरी झैझगा, होहल्ला गरेर माहोल बिथोल्ने क्रियाकलाप गर्नेलाई ५ हजार जरिवाना तोकिएको मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष खेमबहादुर चन्दले बताए । उनले गंगा दशहरा मेला–२०८२ लाई सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताएका छन्।