May 9, 2025, Friday
२६ बैशाख २०८२, शुक्रबार

तीनै तहका सरकारको सम्बन्ध प्रगाढ बनाउनु पर्छ : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनु पर्ने बताएका छन्। विहिबार प्रदेश तथा स्थानिय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण तथा वजेट सम्बन्धी छलफल कार्यक्रमको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन ।

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानिय तहबीच अन्तरसम्बन्ध सुदृढीकरण तथा वजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विभागिय मन्त्रीहरु, विषयगत समिति सभापतिहरु, प्रदेशसभा सदस्य, मुख्यसचिब, विभागिय सचिबहरु र सुदूरपश्चिमका सबै पालिका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

तीन तहको सरकारले एकअर्काको अस्तित्व स्विकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउदै मुख्यमन्त्री शाहले भने, ‘अर्काको अस्तित्व स्विकार्ने वातावरण नहुँदा अवस्था जटिल वन्छ । बजेट निर्माणमा सधैँ हामीले त्रुटि गरिरहने र जनताले सधैँ गुनासो गरिरहने परिपाटीलाई पटक पटक दोहोर्याउने हो, भने संघीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ’, मुख्यमन्त्री शाहले भने, ‘सही रुपमा परिचालन हुने हिसबले बजेट निर्माण गर्नुपर्दछ ।’

मुख्यमन्त्री शाहले ‌एकसाताको औपचारिक भारत भ्रमण फलदायी भएको जानकारी गराए । भारतीय सरकारले गरेको सम्मानले हामी सबैको सम्मान भएको अनुभूति भएको बताउँदै, भोलिका लागि समेत यो भ्रमण फलदायी हुनेमा आफु बिश्वस्त रहेको बताए।

समृद्धि र विकासका लागि सदैव काधमा काध मिलाएर अघि बढ्नुपर्नेमा मुख्यमन्त्री शाहले जोड दिएका छन् । नीति कार्यक्रम तथा वजेट सम्बन्धी छलफल कार्यक्रममा प्रदेश सरकार सवै विभागका प्रतिनिधि, ९ वटै जिल्लाबाट आएका प्रतिनिधि, सरोकारवाला निकाय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।