सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोली भारत प्रस्थान, कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली भारत प्रस्तान गरेको छ। मुख्यमन्त्री शाहको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत भ्रमणको नयाँदिल्ली प्रस्थान गरेको हो।
भ्रमण टोलीमा मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, मुख्य सचिव, सचिव र सचिवालयका केही सदस्यहरू रहेका छन्। उनीहरूको टोली भारत भ्रमण सकेर वैशाख २२ गते लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किने कार्यक्रम रहेको छ।
मुख्यमन्त्री शाहले नेपालमै पहिलो पटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको टोली भ्रमणमा गएको बताएका छन्। मुख्यमन्त्री शाह नेतृत्वको टोलीले दिल्लीमा सङ्घीय मन्त्रीसँग भेटघाट गर्ने र विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया गर्नेछ।
भ्रमण टोलीको उत्तरप्रदेश र उत्तराखण्डका विभिन्न स्थानको पनि भ्रमण गर्ने कार्यक्रम रहेको जनाएको छ। भारतमा रहँदा भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्रसहित पर्यटकीय क्षेत्रको भ्रमण, उत्तरखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग समेत भेटघाटको कार्यसूची रहेको प्रदेश सरकारले जनाएको छ।
भारत भ्रमणका क्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा केही मन्त्रीसंग भेट्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक नरेशकुमार शाही छन्।
यसैगरी नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डाक्टर कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डाक्टर जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा सहभागी छन्।
कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई
सुदूरपश्चिम प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पाएका छन् । मुख्यमन्त्री शाहले एक साताका लागि भारत भ्रमणमा जाने भएपछि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिएका हुन।
थापालाई २२ बैशाखसम्मका लागि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री शाहले जानकारी दिएका छन्।





प्रतिकृया दिनुहोस्