April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रचण्डद्वारा अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । प्रचण्डले कैलालीको भजनीका अनाथ तथा सहिद परिवारका दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन ।

भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माविमा आयोजित शैक्षिक कार्यक्रमका क्रममा अध्यक्ष दाहालले अल्पसंख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका हुन्। उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले बहन गर्ने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष प्रचण्डले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षाको सुनिश्चितताप्रति पार्टी सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताका निम्ति माओवादीले उठाएका सवाल अझै सान्दर्भिक रहेको बताए ।

कार्यक्रममा अध्यक्ष दाहालले शैक्षिक पात्रो विमोचन गर्नुका साथै निन्दु राजी र अनिशा थरूनीलाई पाठ्य सामग्रीसहितको झोला (ब्याग) हस्तान्तरण गरेका थिए।

त्यस अवसरमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।