April 18, 2026, Saturday
२०८३ बैशाख ५

अछामका आगलागी पीडितलाई प्रदेश सरकारले तत्काल पचास लाख सहयोग गर्ने

धनगढी । अछामका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल पचास लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार बेलुका आगलागीबाट पीडित भएकाहरु लाई प्रदेश सरकारले तत्काल पचास लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहका प्रेस सल्लाहार डम्मर वमले बताएका हुन ।

सल्लाहार वमका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको प्रदेश विपद् जोखिम न्युनीकरण तथा नियन्त्रण परिषद्को बुधबार बिहान बसेको बैठकले अछामका आगलागी पीडितका लागि तत्काल बान्नीगढी जयगढ गाउँपालिकालाई पचास लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए । उनले भने,‘ मंगलबार बेलुकी जयगढ बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि ५० लाख रुपैयाँ बान्नीगढी जयगढ गाउँपालिकामार्फत् उपलब्ध गराउने निर्णय भएको छ ।’

‘सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम वितरण गर्ने गरी ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताए । यसका साथै प्रारम्भीक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गरिने छ ।’

मुख्यमन्त्री शाहले यसका साथै आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि संघीय सरकार तथा विभन्न संघसंस्था र दातृ निकायलाई राहत र पुननिर्माणका सन्दर्भमा सहयोगको अपिल गरेका छन् ।

प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था वुझ्नका लागि सामाजिक विकास मन्त्री र आन्तरिक मामिला मन्त्री लगायतलाई जयगढ पठाउने निर्णय समेत गरको मुख्यमन्त्री शाहले बताए ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर र आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको बताएका छन् । जलेका २७ घरहरुमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा लागेको आगो तीन घण्टापछि राति १० बजे मात्रै नियन्त्रणमा आएको थियो । आगलागीबाट बजारका अधिकांश पसलहरु जलेर नष्ट भएपनि मानवीय क्षति भने हुन पाएन ।