April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्ववियु निर्वाचन : सुदूरपश्चिमका आंगिक क्याम्पसहरूमा मतदान हुदै, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान भइरहेको छ। मतदान आज बिहान ८ बजेदेखि सुरु भएको हो।

विश्वविद्यालयको केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा सार्वजनिक गरिएको तालिकाअनुसार आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो। केन्द्रीय क्याम्पसमा भने तालाबन्दी रहेको छ ।

निर्वाचन केन्द्रीय क्याम्पससहित १६ वटा क्याम्पसमा तोकिएको थियो। तर, केन्द्रीय क्याम्पसमा उत्पन्न विवादका कारण निर्वाचन स्थगित गरिएको छ। त्यस्तै, तीन क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने अनेरास्ववियू (एकीकृत समाजवादीनिकट) र अखिल समाजवादी (नेकपा निकट) ले संयुक्त रूपमा निर्वाचन संयोजकको कार्यालयमा तालाबन्दी गरेका छन्। वास्तविक विद्यार्थीलाई मतदानबाट वञ्चित गराउने प्रयास भएको आरोप लगाउँदै उनीहरूले विरोधस्वरूप तालाबन्दी गरेका हुन्।

कैलालीको कैलाली बहुमुखी क्याम्पस, दुर्गालक्ष्मी र टीकापुर बहुमुखी क्याम्पस, डडेल्धुराको त्रिवेणी, बैतडीको जगन्नाथ, पाटन र मणीलेक बहुमुखी क्याम्पस, अछामको जनता बहुमुखी क्याम्पस, डोटीको घण्टेश्वर, दार्चुलाको गोकुलेश्वर र दार्चुला बहुमुखी क्याम्पस तथा बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढाइएको छ।

तीन आंगिक क्याम्पसमा सर्वसम्मत स्ववियु नेतृत्व चयन भएको छ । बाजुरा क्याम्पसमा अनेरास्ववियुका लक्ष्मण रोकाया सभापतिमा सर्वसम्मत चयन भएका छन् । त्यहाँ उपसभापति र सचिव नेविसंघका छन् । यस्तै बाजुराकै बडीमालिका क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सविन रावत निर्विरोध निर्वाचित भएका छन् ।

डोटीको सीताराम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानलै निर्विरोध निर्वाचित भएको छ। स्ववियु सभापतिमा नेविसंघका उमेश बलायर, उपसभापतिमा मनिषा कुमारी भट्ट (रोस्यारा), सचिवमा ललितबहादुर साउद, सहसचिवमा लक्ष्मीकुमारी विक, कोषाध्यक्षमा कविताकुमारी बलायर निर्विरोध निर्वाचित भएका छन् ।