प्रहरी कार्यालय अगाडि पुरुषको शव फेला, दुर्गा मन्दिर रक्ताम्मे

धनगढी । ईलाका प्रहरी कार्यालय अगाडि एक पुरुषको शव फेला परेको छ। कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि एक पुरुषको शव फेला परेको हो।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाका अनुसार ईलाका प्रहरी कार्यालय अगाडि रहेको दुर्गा मन्दिर परिषरमा अर्धनग्न अवस्थामा पुरुषको शव फेला परेको हो। फेला परेको शवमा चोटपटक पनि देखिएको उनले बताए।
शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको उनले बताए। डिएसपी थापाका अनुुसार शवको पहिचान हुन सकेको छैन। उनले ढुङ्गाले हानेर टाउकोको बायाँ पट्टिको भाग फुटाइएको बताए । ‘टाउको फुटेको छ । आँखा पनि फुटाइएको छ । अनुहार चिनिने अवस्थामा छैन’ उनले भने ‘शव नजिकै रगत लागेको ढुङ्गा पनि फेला परेको छ ।’ पहिचान नखुलेका ती पुरष अन्दाजी ३५–४० वर्षको जस्तो रहेको जनाइएको छ । उनको साथमा लुगा बाहेक कुनै सामान फेला नपरेको प्रहरीको भनाइ छ ।
मन्दिर भित्रै हत्या
पुरुषको शव मन्दिरको दक्षिण तर्फ प्राङ्गणमा भेटिएको भए पनि घटना मन्दिर भित्रै भएको प्रहरीले जनाएको छ । शव भेटिएको ठाउँ भन्दा २० मिटर जति दुरीमा रहेको मन्दिर प्राङ्गण रक्ताम्मे भएको छ । मन्दिर देखि घिसारेर शव तल फालिएको जस्तो देखिएको डिएसपी थापाले बताए । मन्दिरका पुजारी टिका दत्त पनेरुले बिहान साढे ६ बजे मात्रै आफूले घटनाको बारेमा थाहा पाएको बताए ।

उनले मन्दिर पछाडि रहेको पतञ्जलि योग समितिका मानिसले भनेपछि आफूले थाहा पाएको बताए । ‘म साँझ साढे ७ बजे मन्दिर बन्द गरेर गएको थिए । बिहान साढे ५/६ बजे तिर आएको थिए’ उनले भने ‘बिहान मन्दिरमा आएर साढे ६ बजे तिर पतञ्जलि योग समितिका मान्छेले यहाँ शव छ भनेपछि थाहा पाए ।’ मन्दिरमा शव भेटिएको हल्ला फैलिएपछि प्रहरी आएको उनले बताए । उनले मन्दिर अगाडिको गेटमा ताला लगाएको भए पनि मन्दिर प्रवेश गर्ने अन्य ३ गेट रहेको बताए ।
प्रहरीमाथि प्रश्न
सडक पारीपट्टि रहेको मन्दिरमा यती ठुलो घटना हुँदा पनि प्रहरी अनविज्ञ भएको भन्दै स्थानीयले आक्रोश पोखेका छ । स्थानीयले प्रहरी कार्यालय अगाडिको मन्दिरमा बीभत्स हत्या हुँदा पनि प्रहरीले थाहा नपाउनु प्रहरीको गम्भीर लापरबाही भएको बताएका छन् ।प्रहरीले अहिले शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ । घटनाको विभिन्न चरणमा अनुसन्धान भइरहेको डिएसपी थापाले बताएका छन् ।





प्रतिकृया दिनुहोस्