प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा राजावादी दललाई ‘निषेध’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकका लागि गणतन्त्र पक्षधरदलका नेतालाई मात्र बोलाएको छ । बैठक साँझ ७ बजे बस्नेगरी गणतन्त्र पक्षधरदलका शीर्ष नेतृत्वलाई मात्रै निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहभागी नगराइने भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपासहितका नेताहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार भएको राजावादीको उग्र र हिंसात्मक प्रदर्शनपछि गणतन्त्रवादीहरूलाई एकैठाउँ उभ्याउने कोसिसस्वरुप यो बैठक गर्न लागिएको हो ।
राजावादीहरूको पछिल्लो गतिविधिले लोकतन्त्रमाथि प्रहार भएको ठहरसहित गणतन्त्र पक्षधर एकठाउँमा उभिनुपर्ने प्रमुख दलका नेताहरूले बताउँदै आएका थिए । यही सन्दर्भमा समसामयिक राजनीतिक घटना र भावी रणनीतिबारे छलफल गर्न शीर्ष नेताहरू जुट्न लागेको बताइएको छ ।
यसैक्रममा प्रधानमन्त्री ओलीले र विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवादसमेत भएको हो । कुलमान घिसिङ प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरोधसमेत गरिरहेका बेला बालुवाटार गणतन्त्रको कित्तामा रहेका दलहरूसँग सामूहिक छलफल गर्न लागिएको हो ।





प्रतिकृया दिनुहोस्