साढे चार सय मुक्त हलियाको पुनःस्थापना

दार्चुला साउन ७(ई–रैवार): जिल्लाका साढे चार सय मुक्त हलियाको पुनःस्थापना गरिएको छ । आर्थिक वर्ष २०६९÷७० बाट जिल्लामा हलिया मुक्ति पुनःस्थापना शुरु गरिएको हो ।
जिल्लामा चार सय ३४ जना हलियाको पुनःस्थापना गरिएको मालपोत कार्यालयले जनाएको छ । साविक सुदूर र मध्यपश्चिमका १२ जिल्लामा हलिया रहेका भन्दै सरकारले २०६५ भदौ २१ गते हलिया मुक्ति घोषणा गरेको थियो । जसमा दार्चुलाले पहिलो नम्बरमा हलिया मुक्त पुनःस्थापना गरिसकेको हलिया मुक्त पुनःस्थापना कार्यदलका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए । परिचयपत्रका आधारमा समितिले उनीहरुलाई पुनःस्थापना गरेको छ ।
हलिया मुक्ति पुनःस्थापनाअन्तर्गत जिल्लामा जग्गा खरीद, घर निर्माण तथा घर मर्मतका कार्र्य गरिएका छन् । कूल ४५९ जना हलिया सूचीकृत रहेकामा २५ जना हलिया पुनःस्थापना सूचीमा नआएपछि बाँकी हलियाको पुनःस्थापना घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए ।
जिल्लामा पुनःस्थापनाअन्तर्गत ६१ जना हलियाको जग्गा खरीद तथा घर निर्माण, ३१ जना हलियाको घर निर्माण र तीन सय ४२ जनाको घर मर्मत गरेर पुनःस्थापना गरिएको मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर ठगुन्नाले जानकारी दिए ।
जिल्लाका साविकका १६ गाविसमा रहेका मुक्त हलियाहरु हलियामा सूचीकृत भएको तथ्याङ्क थियो । पुनःस्थापनाको कार्यक्रम सकिएसँगै आगामी वर्षदेखि हलिया मुक्ति पुनःस्थापनाका लागि भन्दै थप बजेट नआउने समितिका संयोजक विष्टले बताए ।





प्रतिकृया दिनुहोस्