डढेलो लाग्न नदिन तयारीमा जुटे डिभिजन वन कार्यालयहरु

धनगढी । वनमा डढेलो नलाग्न दिनका लागि डिभिजन वन कार्यालय तयारीमा जुटेका छन्। गर्मी याममा डढेलो लागेर वन विनाश हुने हुदाँ त्यस्ता घटना हुन नदिन कैलाली र कञ्चनपुरका डिभिजन वन कार्यालयसहित सरोकारवाला निकाय तयारी गरिरहेका हुन।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्णदत्त भट्टले गर्मी याममा डढेलो लागेर वन क्षेत्रको विनाश हुने हुदाँ यस्ता घटना हुन नदिन र भइहाले डढेलो निभाउनका लागि तयारी गर्न तयारी थालिएको बताएका हुन ।
डिभिजन प्रमुख भट्टले वन क्षेत्रलाई डढेलोबाट बचाउन जिल्लास्थित सबै निकायमा उच्च सतर्कता अपनाइएको बताए। उनले केही दिनभित्रै सामुदायिक वनसँग छलफल गरेर थप कार्य अगाडि बढाउने बताए।
चैतदेखि पानी नपरेसम्म विभिन्न ठाउँमा आगो लागेर वन क्षेत्र तहसनहस हुने गरेको छ। सुख्खा लम्बिएमा झन बढी क्षति हुने गरेको छ। डढेलोको कारण विगतमा भएको क्षतिलाईलाई मध्यनजगर गरेर सरोकारवाला निकायले विभिन्न तयारी गरिरहेको उनले बताए।
“अब हामीले पातपतिङ्गर हटाउने मेसिन ल्याउने तयारी पनि गरिरहेका छौं”, भट्टले भने, “आगो फैलिन नदिनका लागि सडक क्षेत्रको पातपितङ्गर सफा गरिन्छ।” यस्तै, सामुदायिक वन उपभोक्ता समूह लगायतमा डढेलो नियन्त्रण दल बनाइएको छ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले प्राकृतिक र मानवीय कारणले वन क्षेत्रमा फैलिने डढेलोका कारण हरेक वर्ष वनमा क्षति हुने गरेका कारण वनलाई डढेलोबाट जोगाउनका लागि तयारी थालिएको बताए। उनले वन्यजन्तुको सिकार गर्नका लागि पनि मान्छेले वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको बताए।
“राम्रो घाँस उम्रिन्छ भनेर पनि आगो लगाउने गरेको पाइएको छ”, ठाकुरले भने, “कञ्चनपुरमा वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि दमकल, ट्रयाक्टर तयारी अबस्थामा छन्। डिभिजन वन कार्यालयहरुले सामुदायिक वन, स्थानीय तह र सरोकारवालासँग मिलेर प्रभावकारी रूपमा डढेलो नियन्त्रण गर्ने छ।”
उनले स्थानीय तहसँग समन्वय गरेर डढेलो लागेको स्थानमा तत्काल दमकल पठाउने बताए। यसैगरी, विगतमा निर्माण गरिएका अग्नि नियन्त्रण रेखा सरसफाइ गर्ने, वन क्षेत्रमा गोडमेलका साथै झाडी सरसफाइ गर्ने जस्ता क्रियाकलापलाई अगाडि बढाउने ठाकुरले बताए।
डढेलो नियन्त्रणका लागि तालिम प्राप्त उक्त जनशक्तिलाई अधिकतम उपयोग गर्ने जनाइएको छ। वन क्षेत्रमा थुप्रै सडक निर्माण भएका छन्। वनमा बनेका सडकले अग्नि नियन्त्रण रेखाको काम गर्ने गरेको ठाकुरले बताए।
सुदूरपश्चिममा प्राकृतिक विपत्मध्ये पहिलो नम्बरमा आगलागी रहेको छ। वन क्षेत्रसहित विभिन्न ठाउँमा बर्सेनि आगलागी हुँदै आएको छ। वन क्षेत्रमा मानवीय र प्राकृतिक कारणले आगालगी हुने गरेको छ।





प्रतिकृया दिनुहोस्