April 18, 2026, Saturday
२०८३ बैशाख ५

‘हाम्रो देशमा रहेको जनशक्ति निर्यात हुने र अन्यत्रबाट आयात गर्नुपर्ने समस्या छ’

नगढी । धनगढीमा बिहीबारदेखि सीप तथा रोजगार मेला सुरु भएको छ । नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घको प्राविधिक सहयोग तथा धनगढी उपमहानगरपालिकाको आयोजनामा सुरु भएको मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन ।

युवाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सीप सिकाई दक्ष बनाउने उद्देश्यले तालिम दिन लागिएको हो । यो मेला नेपालमै काठमाडौं पछि दोस्रो पटक धनगढीमा आयोजना गरिएको हो ।

सीप तथा रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताएका छन् । यस्ता मेलाबाट जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताए । ‘हाम्रो देशमा रहेको जनशक्ति निर्यात हुने र अन्यत्रबाट आयात गर्नुपर्ने समस्या छ,’ उनले भने, ‘अब दक्ष जनशक्ति उत्पादनसंगै रोजगार दिने कुरामा पनि जोड दिईने छ ।

मेलामा अटोमोबाईल,निर्माण, आथित्यरसत्कार, इलेक्ट्रिकल र मेकानिकल, सूचना प्रविधि, शैक्षिक, स्वास्थ्य तथा सौन्दर्य, आर्ट एण्ड क्राफ्ट डिजाइनिङ विधामा सीप सिकाइने छ । स्वदेशमै रोजगारका अवसर पाउन दक्ष जनशक्ति तयार गर्न मेला आयोजना गर्न गरिएकोमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले धन्यवाद दिएका छन् । 

सुदूरपश्चिम गरिबी र बेरोजगारी समस्याले बढी ग्रह छ । सीपयुक्त जनशक्तिको अभाव छ, यो कुराको संशोधन हुने गरी आयोजना गरिएको मेलाले युवा उद्यमी बढाउन र सीपयुक्त युवा निर्माणमा योगदान पुग्ने विश्वास मन्त्री भण्डारीको छ । 

मेलामा प्रतिस्पर्धाबाट छानिएका प्रशिक्षकहरूबाट तालिम दिइने छ । भने करिब अढाई करोड लगानी खर्च हुने अनुमान गरिएको छ । देशका लागि नै नवीन अभ्यास र आवश्यकता देखिएको विषयलाई संशोधन गरिएको प्रति मन्त्री भण्डारीले खुसी व्यक्त गरे ।

मेलामा तालिम लिनका लागि नौ जिल्लाका ४७ स्थानीय तहबाट चार हजार आठ सय ३० जनाले आवेदन दिएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए । ‘तीमध्ये ३९ पालिकाका एक हजार ४० जना छनोट भएका छन्,’ मेयर हमालले भने, सहभागी प्रशिक्षार्थीहरूलाई २९ विधामा तालिम दिइने छ ।’ यस्तो मेला हरेक वर्ष आयोजना गर्नुपर्ने बताउँदै मेयर हमालले संघीय सरकारले नै स्वामित्व लिए प्रभावकारी हुने बताए ।

‘यसपटक धनगढीमा रोजगार मेला भइरहेको छ,’ उनले भने, ‘संघीय सरकारले स्वामित्व लिए अर्कोपल्ट सुदूरपश्चिमका अन्य ठाउँमा आयोजना गर्न सकिन्छ । स्वरोजगारका लागि यस्ता मेला प्रभावकारी हुन्छन् ।’युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको मागअनुसार सीप सिकाई दक्ष बनाउने मेलाको उद्येश्य रहेको हमालले बताए । 

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकले तालिम ४० दिनसम्म चल्ने जानकारी दिए । ३० दिन विभिन्न विधामा सीपमुलक तालिम, पाँच दिनसम्म जीवन उपयोगी र उद्यमशिलता विकास सम्बन्धी तालिम दिइनेछ भने दुई दिन रोजगारदाता र तालिमप्राप्त युवाहरुबीच अन्तक्रिया गरिने पाठकले जानकारी दिए । 

मेलामै रोजगारदाता र तालिम प्राप्त दक्ष जनशक्तीबीच रोजगारीका लागि अन्तरक्रिया गराउने तथा रोजगारको लागि अभ्यास पनि गराइने बताइएको छ ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखहरूको सहभागिता रहेको थियो । रोजगार मेला प्रति युवाहरूको आकर्षण बढ्ने देखिएको छ ।