March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

‘एमसिसी परियाेजना स्थगितले परेका प्रभावलाई सरकारले व्यवस्थापन गर्छ’

धनगढी । धनगढी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एमसिसी परियोजना स्थगितले परेका प्रभावलाई सरकारले व्यवस्थापन गर्ने बताएका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।

मन्त्री भण्डारीले एमसिसी परियोजना स्थगित भएमा कतिपय योजनामा प्रभाव पर्ने भए पनि सरकारले त्यसलाई व्यवस्थापन गर्ने बताए । “कतिपय आयोजना चलिरहेका र बजेटरी सिस्टममा समावेश भएकाले एमसीसी स्थगितले त्यस्ता योजनामा प्रभाव त पर्ने नै भयो”, उनले भने, “तर, सरकारले यसलाई व्यवस्थित गर्छ ।”

अमेरिकी सहायता नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को अनुदान राष्ट्रपति ट्रम्पले तत्कालका लागि रोकेका छन् । गत २० जनवरीमा राष्ट्रपति ट्रम्पले वैदेशिक सहायताको पुनर्मूल्यांकन तथा पुनःसंरचना सम्बन्धी कार्यकारी आदेश जारी गर्दै सम्पूर्ण वैदेशिक सहायतालाई तीन महिनाका लागि अस्थायी रुपमा रोकेका छन् ।

मन्त्री भण्डारीले मुलुकमा सरकारले औद्योगिक पूर्वाधार निर्माणमा जोड दिएको बताए । उनले भने, ‘संसद्को अधिवेशन जारी छ, केही समयमा सरकारले ल्याएका अध्यादेशले संसद्मा प्रवेश पाउनेछन्, सहमतिका साथ अध्यादेश पारित गर्ने गरी तयारी भइरहेको छ ।’

मन्त्री भण्डारीले सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै अध्यादेशले लगानीमैत्री वातावरण बन्ने खालको सुनिश्चितता भएको बताए । कोभिडबाट प्रभावित उद्योगलाई उठाउनु पर्छ भनेर नै सरकारले अध्यादेशसमेत ल्याएको बताए ।

‘अध्यादेशले अगाडि ल्याएका मान्यता सरकारको प्रभावकारितासँग कति उपयुक्त छन् भन्ने कुराको छलफल र बहसबाट यसलाई टुङ्ग्याउनु पर्छ जस्तो लाग्छ’, उनले भने, ‘संसदमा पनि एउटा वातावरण बन्छ, त्यसलाई अगाडि बढाउने सरकारले तयारी थालेको छ ।’

मन्त्री भण्डारीले नेपाल सरकारको लगानीले मात्रै औद्योगिक पूर्वाधार निर्माण सम्भव नहुने भएका कारण त्यसका लागि सरकारले लगानीकर्ताको खोजी गर्ने गरेको बताए। “सरकारले जारी गरेको अध्यादेशले यस्ता धेरै कुरालाई समेटेको छ”, उनले भने, “लगानीको वातावरण र सेज अध्यादेशमा समावेश छन् ।”

यसैगरी युवा रोजगारी वृद्धिका लागि सरकारले नीतिगत कुरामा सुधार गरिरहेको उनले बताए । दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको प्रक्रियालाई नेपाल सरकारले अगाडि बढाइसकेको उल्लेख गर्दै उनेले भने, “भारत सरकारले ठेक्काको सूचना निकाल्ने बित्तिकै ड्राइपोर्ट निर्माण क्षेत्रमा कटान गर्नु पर्ने रुख कटानको काम सुरु हुन्छ ।” सुख्खा बन्दरगाह बनेमा बाह्य देशसँगको आयात निर्यात सहज बन्ने मन्त्रीको भनाइ थियो ।

उनले कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र (सेज) र कञ्चनपुरमा दैजी छेला उद्योग निर्माण कार्यलाई सरकारले क्रमिक रूपमा अगाडि बढाउने बताए । त्यस्तै, तत्काल गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सेती प्रादेशिक अस्पतालमा रहेका केही जनशक्तिलाई जोडेर अगाडि बढाउने कुरा भएको उनले बताए । 

मन्त्री भण्डारीले सरकारको कार्य सम्पादनमा हिजोको भन्दा अहिले अलि सुधार भएको जिकिर गरे । उनले कार्य सम्पादनकै विषयलाई लिएर सरकारका कुनै पनि मन्त्री डेन्जर जोनमा नरहेको बताए ।