सुदूरपश्चिम प्रदेशमा चार संसदीय समितिका सभापति निर्विरोध

धनगढी । सुदूरपश्चिम प्रदेशका चार वटा संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । प्रदेश सरकारमा सहभागी दलहरुबीच भागबन्डा मिलेपछि प्रदेशसभाका विषयगत समितिका सभापतिहरु निर्विरोध चयन भएका हुन् ।
ज्येष्ठ सदस्यको भरमा रहेका यहाँका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र नयाँ गठन गरिएको विशेषाधिकार समितिका सभापतिहरु निर्विरोध चयन भएका हुन ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले चारवटै समितिको सभापतिका लागि एक/एक जनाको मात्र उम्मेदवारी परेकोले निर्विरोध भएको घोषणा सम्बन्धित समितिको बैठकले आइतबार गर्ने जनाए ।
सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादीका अक्कल रावल, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिमा कांग्रसकी तुलसी देवकोटा सभापतिमा निर्विरोध चयन भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी जैशीले जानकारी दिए ।
पुस ११ मा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति पाउने सहमति भएको थियो ।
विशेषाधिकार समिति कांग्रेसको भागमा परेको थियो । आज सोही सहमतिअनुसार कांग्रेस, एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गरेका थिए। आज आज चार वटै समितिमा सभापति निर्विरोध भएपनि त्यसको घोषणा भने भोली गरिने छ ।
भोलि बिहान १० देखि ११ बजेसम्म प्रस्तावित सभापतिको उम्मेदवारविरुद्ध दाबी विरोधको कार्यसूची रहेको छ । १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर १ बजे सभापतिको निर्वाचनको लागि सम्बन्धित समितिको बैठक प्रारम्भ गर्ने र निर्वाचन परिणाम घोषणा गर्ने तालिका प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेशका सबै संसदीय समितिमा यस अघि नै निर्वाचन भएर सभापति चयन भइसकेको थियो । तर, विधायन तथा प्रदेश मामिला समिति बाहेकका तीन समितिका सभापतिलाई नै मन्त्री भएपछि ती समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका थिए । विधायन तथा प्रदेश मामिला समितिमा भने काग्रेसका देवानसिंह विष्ट सभापति छन् ।





प्रतिकृया दिनुहोस्