शिक्षाविद् प्रा.डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन

धनगढी । शिक्षाविद् प्रा.डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज नागरिकअभिनन्दन गरिएको हो ।
नागरिकको तर्फबाट नगरप्रमुख गोपाल हमालले पन्तलाई माला, खादा र सम्मानपत्रसहित धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरेका हुन ।
धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका प्रा.डा. पन्तलाई नागरिक अभिनन्दन गरिएको हो ।
पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली वाणिज्य क्याम्पसमा पढाउन थालेका थिए । पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाएका थिए ।
१४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखियो । भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए । प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदमा रहेर काम गरे ।
डोटीको शिखर नगरपालिका–९ उच्चाकोट (सिद्धेश्वर गाउँ पञ्चायत) मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन् ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख हमालले शिक्षा विद् पन्तले २०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बताएका छन् ।
नगरप्रमुख हमालले भने, ‘कैलाली बहुमुखी क्याम्पस थिएन । कैलाली व्यवस्थापन क्याम्पस थियो । पछि मात्र कैलाली बहुमुखी क्याम्पस नाम राखिएको हो । सुरुमा भौतिक संरचनाहरू पनि थिएन । विस्तारै संरचनाहरू तयार भए । अहिलेको अवस्थामा ल्याउन उहाँको भूमिका महत्त्वपूर्ण छ । त्यसैले उहाँलाई हामीले नागरिक अभिनन्दन गरेका हौ ।’
को हुन् प्रा.डा. पन्त ?
धनगढीलाई कर्मथलो बनाएका पन्तको २०११ साल फागुन २१ गते डोटीको सिलगढीमा जन्म भएको थियो । हेमराज जन्मिएको वर्ष उनका बुवा डोटी सिलगढीमा आयुर्वेद औषधालयका प्रमुख थिए। पन्तकाे पुर्खेउली घर भने डोटीकै उच्चाकोट हो ।
बुवाको सरुवा डडेल्धुरा भएपछि पन्तको प्रारम्भिक शिक्षा त्यही भएको थियो। प्रारम्भिक शिक्षा डडेल्धुरामा पूरा गरेका उनले उच्चाकोटकै सीताराम विद्यालयबाट कक्षा ८ पास गरेका थिए । उनले तत्कालिन दरवार हाइस्कुलबाट २०२८ सालमा एसएलसी गरेका थिए।
२०३१ सालमा त्रिचन्द्र कलेजबाट आइकम गरेका डा. पन्तले शंकरदेव क्याम्पसबाट बीकम गरेका थिए । २०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको पढाई पूरा गरे ।
उनले ०३७ साल माघ १ गतेदेखि कैलाली बाणिज्य क्याम्पसमा पढाउन सुरु गरेका थिए । पछि कैलाली बाणिज्य क्याम्पसको नाम परिवर्तन भएर कैलाली बहुमुखी क्याम्पस भयो ।
पन्तले कुमाउ विश्वविद्यालयबाट २०४५ सालमा विद्यावारिधी गरेका थिए । विद्यावारिधी गरेकै वर्ष २०४५ सालमा उनी क्याम्पस प्रमुख भएका थिए । त्यसैदिनदेखि उनी चिफ सरका नामबाट परिचित भएका थिए ।
२०६६ सम्मसम्म क्याम्पस प्रमुख रहेका उनी २०६८ सालमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नियुक्त भए । चार वर्षे कार्यकाल पूरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भएका उनले थप दुई वर्ष कैलाली क्याम्पसमा पढाएका थिए । ०७४ सालमा सेवा रिटायर्ड भएका थिए ।
२०३१ सालमा १९ वर्षको उमेरमा सरस्वती ओझासँग वैवाहिक बन्धनमा बाँधिएका उनका दुई छोरा र एक छोरी छन्।





प्रतिकृया दिनुहोस्