March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

अर्जुन ट्रफीको उपाधि सिवाइसी अत्तरियाले उचाल्यो

धनगढी । अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिवाइसी सिवाइसी अत्तरियाले उचालेको छ । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिवाइसी अत्तरियाले उचालेको हो ।

धनगढीको फाप्ला मैदानमा सोमबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो । उपाधिसंगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ ।

फाइनलमा अत्तरियाले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा समेटियो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए ।

डडेल्धुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । फ्रेन्ड्स क्लब डडेल्धुराले फाइनल खेल हारेसैगै नगद पाँच लाखमा चित्त बुझाउनु परेको छ ।

अत्तरियाका शहाव आलम र दिपेश कडेलले तीन–तीन विकेट लिए । कमल गुप्ता र विवेक यादवले दुई–दुई विकेट लिए । सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिग–३ को पनि विजेता हो ।

टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । अत्तरियाका लागि रासिद खानले ३१ रन बनाए । यस्तै, सन्तोष कार्की र शंकर रानाले समान २०–२०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भीम सार्कीले १० रन बनाए ।

डडेल्धुराका लागि अभिषेक गौतमले चार विकेट लिए । यस्तै अजय चौहान र कुशल भुर्तेलले एक–एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए । अत्तरिया प्रतियोगिताभर अपराजित रहदै च्याम्पियन बनेको हो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार प्रदान गरिने आयोजक गो ड्रिमर्सले जनाएको छ ।

धनगढीमा जारी अर्जुन ट्रफी टी–२० राष्ट्रिय प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाएका थिए। टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’ मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली, र बोष्टन क्रिकेट झापा थिए।

समूह ‘बी’ मा सिवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ, र न्यु होराइजन बुटवल थिए।