April 18, 2026, Saturday
२०८३ बैशाख ५

चिसापानी-गड्डा चौकी सडक ६ लेनको बन्छ : परराष्ट्रमन्त्री राणा

कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन छिट्टै काम सुरु हुने बताएकी छन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म ६ लेन बनाउनका लागि सर्वेक्षण गर्ने काम भइरहेको बताइन् ।

‘राजमार्गलाई ६ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ । राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ । ६ लेनको सड्क निर्माणका लागि छिट्टै काम सुरू हुन्छ,’ उनले भनिन् ।

मन्त्री देउवाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले यस नगरका नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गरिन् । उनले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासका लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताइन् ।

२५ गते नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा सहभागी हुन धनगढी पुगेकी परराष्ट्र मन्त्री डा. राणा कैलालीका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भएकी छन् ।

विकास योजनाहरूको उद्घाटन तथा शिलान्यास गर्न धनगढीका वडा–वडामा पुगेकी परराष्ट्र मन्त्री डा. राणालााई यहाँका स्थानियवासीहरूले विभिन्न समस्या राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

आइतबार मात्रै परराष्ट्र मन्त्री डा. राणाले कैलाली क्षेत्र नम्बर ५ अन्तरगत धनगढी १९ फूलबारी, १७ को डमौलिया, १६को घसिटा, ११ को बेला र २ को सन्तोषी टोलका विभिन्न कार्यक्रममा सहभागी हुनुको साथै जनता सँग भलाकुसारी गरेकी थिइन् ।

परराष्ट्र मन्त्री डा. राणाले धनगढी उपमहानगरपालिका-२ को वडा कार्यालय भवन, वडा नम्बर १९ स्थित जनप्रिय आधारभूत विद्यालयको आठ कोठे पक्की भवन, वडा नम्बर १७ स्थित दमौलिया झोलुङ्गे पुल, वडा नम्बर ११ मा रहेको जोकैया पक्की पुलको उद्घाटन गरेकी छन् । ।

यस्तै, वडा नम्बर १६ स्थित बेहडाबाबा माध्यमिक विद्यालयको आठ कोठे पक्की भवनको शिलान्यास कार्यक्रमसँगै नेपाल विद्यार्थी सङ्घले आयोजना गरेको लागु पदार्थ दुव्र्यसनीविरुद्ध पैदल यात्राका साथै विभिन्न कार्यक्रममा सहभागिता जनाएकी छन् ।