March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

अर्जुन ट्रफी : धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा, अत्तरियाले डडेल्धुराको सामना गर्ने

धनगढी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सिबाईसी अत्तरिया प्रवेश गरेको छ । आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डिसिए धनगढीलाई ६ विकेटले पराजित गर्दै अत्तरिया फाइनमा प्रवेश गरेको हो ।

सिबाईसी अत्तरियाले धनगढीले दिएको १०९ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाउँदै पुरा परेको थियो । अत्तरियाको जितका लागि शंकर रानाले नकआउट रहँदै अर्धसतकिय पारी खेलेका थिए । उनले ५५ बलमा ५६ रन प्रहार गरे । यस्तै दिनेश कँडेलले २४, भीम सार्कीले १६ रनको पारी खेले । विवेक यादवले १२ रन बनाए ।

धनगढीका लागि हिम्मत महराले २, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको धनगढीले २० ओभरको खेलमा १० विकेटको क्षतिमा १०८ रन बनाएको थियो । धनगढीका लागि मिलन बोहराले सर्वाधिक २८ रन, अभिसेक पालले २७ रन, दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए ।

अत्तरियाका कमल गुप्ता र विवेक यादवले २/२ र रसिद खान, दिनेश कँडेल, साहब आलमले १/१ विकेट लिएका थिए । धनगढीका ३ खेलाडी रन आउट हुन पुगेका थिए ।

भोलि हुने फाइनलमा खेलमा अत्तरियाले डडेल्धुराको सामना गर्ने छ ।

अर्जुन ट्रफीमा झन्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रूपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहेको थियो ।