प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारी अनुसार बैठक आइतबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाएको हो ।
७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस-एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ । नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेशलगायत विषयमा छलफल हुनेछ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो ।
सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् ।
त्यस्तै संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिजाल रहेका छन् ।
संयन्त्रले सरकार सञ्चालनमा सुझाव दिँदै आएको बताइएको छ । दुई दलले प्रदेश तथा जिल्लाहरुमा समेत संयन्त्र गठन गरेका छन् । दुई दलले सरकार सञ्चालनमा सहयोगी बन्ने भन्दै संयन्त्र गठन गरेका थिए ।





प्रतिकृया दिनुहोस्