विद्यालयबाट घर फर्किँदै गरेकी किशोरी धनगढीमा बलात्कृत, आरोपी फरार

धनगढी । विद्यालयबाट घर फर्किँदै गरेकी एक किशोरी धनगढीमा बलात्कृत भएकी छन् । कैलालीको धनगढीमा बिहिबार साँझ स्कुलबाट घर फर्किंदै गरेकी १४ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कविन्द्र बोहराले स्कुलबाट घर फर्किंदै गरेकी किशोरीलाई १८ वर्षीय युवकले बलात्कार गरेको बताएका हुन ।
पीडित किशोरी बाजुराको खप्तडछेडेदह गाउँपालिकाकी हुन्। अध्ययनका लागी धनगढी आएकी उनी ७ कक्षामा पढ्दै छिन् । स्कुलबाट घर फर्किने क्रममा युवकले आफ्नो घरमा लगेर उनलाई बलात्कार गरेको डीएसपी बोहराले जानकारी दिए ।
ती युवक १८ वर्षीय रहेका छन्। उनीमाथि जबरजस्ती करणी गरेर युवक भागेको प्रहरीले जानकारी दिएको छ। पीडित किशोरीले शनिबार मात्र प्रहरी समक्ष जाहेरी दिएकी थिइन्।
किशोरीलाई धाकधम्की दिएर जबरजस्ती करणी गरेको घटना प्रहरीमा पुगेको डीएसपी बोहराले बताए । ‘किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्ती करणी गर्ने युवकको खोजी भइरहेको छ,’ उनले भने।
स्कुलबाट घर फर्किने क्रममा सडकमा बाटो छेकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएको उजुरीमा भनिएको छ। घटनाबारे जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी बोहराले बताएका छन् ।

प्रतिकृया दिनुहोस्