April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेश सरकारले थाल्यो बडघर र भलमन्सा ऐन बनाउने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बडघर र भलमन्सा ऐन बनाउने तयारी गरेको छ । बडघर र भलमन्सा प्रथाको विकास तथा प्रबर्द्धनका लागि सुदूरपश्चिम प्रदेश सरकारले ऐन निर्माणको प्रक्रिया थालेको हो।

सरकारले ऐनको मस्यौदा तर्जुमा गर्नका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मन्त्रालयले सैद्धान्तिक सहमति प्रदान गरेको बताएको छ।

मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएकाले सुदूरपश्चिम प्रदेश बडघर र भलमनसा प्रथा संरक्षण तथा विकाससम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि अगाडि बढ्ने सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेले जानकारी दिएका छन्।

मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्राप्त गर्न प्रदेश सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेस गरिने उनले बताएका छन्।

यस प्रदेशको कैलाली र कञ्चनपुरमा सघन बसोबास र बाहूल्य रहेको आदिवासी जनजाति थारू समुदायमा परम्परादेखि बडघर भलमनसा प्रथा प्रचलित छ। यस प्रथालाई संरक्षण, प्रवर्धन र विकास गर्नका लागि छुट्टै ऐन बनाउने प्रदेश सरकारले प्रतिबद्धता जनाउँदै आएको थियो।