March 9, 2025, Sunday
२५ फाल्गुन २०८१, आईतवार

त्रिविले खुल्यो २०५८ सालदेखिका विद्यार्थीका लागि मौका परीक्षाको फारम

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको फारम खोलेको छ । २०५८ सालदेखि मौका परीक्षा दिन नपाएका स्नातक तह र स्नातकोत्तर तहका लागि विद्यार्थीका लागि मौका परीक्षाको आवेदन खुला गरेको हो ।

यसअघि त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष  प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा २०८१ असोज ७ गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका २०५८ साल देखीका वार्षिक प्रणाली अन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका  विद्यार्थीको लागि एक पटक मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको अवसर दिएको हो । 

‘वार्षिक परीक्षा प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो र स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा मिति २०८१ साल माघ २४ गतेदेखि २०८१ साल फागुन २३ गते सम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोव्वर दस्तुर सहित आवेदन फाराम भरी बुझाउनुहुन अनुरोध छ,’ त्रिविले जारी गरेको सूचनामा भनिएको छ।

tu-notice-1738814952.png