April 18, 2026, Saturday
२०८३ बैशाख ५

अवैध काठसहित ट्र्याक्टर बेवारिसे अवस्थामा फेला, पूर्वी कैलालीमा हुन थाल्यो काठ तस्करी

धनगढी । अवैध काठसहित एक ट्र्याक्टर बेवारिसे अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार टीकापुर नारायणपुर सडकखण्डमा अवैध काठका गोलियासहित ट्र्याक्टर बेवारिसे अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार शनिबार राति ९:३० बजेको समयमा टीकापुर नगरपालिका-६ नारायणपुर सडकखण्डमा अवैध काठका गोलियासहित ट्र्याक्टर बेवारिसे अवस्थामा फेला परेको हो।

प्रहरीले ट्र्याक्टरमा पिपलको काठ ५ गोलिया, सिमलको १३ गोलिया, आरा २ थान, घन १ थान, बञ्चरो २ थान र बेल्चा १ थान फेला पारेको र टीकापुर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। ट्र्याक्टरको नम्बर भने स्क्य्राच भएर स्पष्ट नभएको हुँदा खुल्न नसकेको प्रहरीले जनाएको छ।

कैलालीको पूर्वी क्षेत्रका जंगलमा काठ तस्करी हुन थालेको छ। केही समययता सुस्ताएको काठ तस्करी वनका कर्मचारी र प्रहरीकै सेटिङमा हुन थालेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार विभिन्न पार्टीका युवा नेताहरु समेत काठ तस्करीमा संलग्न रहेका छन्।

रातिको समयमा कैलालीको मसुरिया, गौरिगङ्गा, चुरेक्षेत्र, मोहन्याल तथा बर्दगोरिया, टीकापुर लगायतका क्षेत्रबाट पनि काठ तस्करी हुने गरेको बताइन्छ।