कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको आशंका, निष्पक्ष छानबिन गर्न गृहमन्त्रीसमक्ष माग

धनगढी । नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युतराज कलौनीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ। उनका बुवा जनकराज कलौनीले छोरालाई हत्या गरेर फालेको हुनसक्ने आशंका व्यक्त गरेका हुन।
कलौनीको घटना शङ्कास्पद रहेको भन्दै प्रहरीले गहन अनुसन्धान गरिरहेको जनाएको छ । शनिवार बिहान भीमदत्त नगरपालिका मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो। शुक्रवार राति ९ः३३ बजेसम्मको सिसी टिभी फुटेजमा देखिएका कलौनी त्यसको केही मिटर पर मृत अवस्थामा फेला परेका हुन ।
गृहमन्त्री रमेश लेखकसँगको भेटमा उनका बुवा जनकराज कलौनीले भने, ‘घटनाप्रति आशंका छ। अन्तै कतै मारेर यता ल्याएर फालेको हो कि भन्ने शंका छ। नाम तोक्ने त कसको तोक्ने ? राती ३ बजे हिँडेर आएको हरेछ, कसैले बोलाएको हो कि ?’
घटनापछि गृहमन्त्री लेखक शनिबार कञ्चनपुर पुगेका थिए। कलौनीको शव फेला परेको स्थानमा रहेका घरमा मान्छे बस्ने गरेका छैनन्। यी सबै विषयमा जानकार हुनेले नै हत्या गरेर फालेको हुन सक्ने उनको आशंका छ।
छोराले प्रयोग गर्ने एउटा मोबाइल पनि नभेटिनुले आशंका उत्पन्न भएको बुवा जनकराजको भनाइ छ। उनको शरीरमा बाहिर देखिने कुनै घाउचोट छैन। शव नजिकै उनको खाली पर्स ‘वालेट’ फेला परेको छ। घटना हुनुभन्दा केही समयअघि अस्पतालमा ग्यास्ट्रिकको औषधी लिन गएको प्रहरीले जनाएको छ । उनको खल्तीमा औषधी पनि भेटिएको छ ।
‘चार जना साथीहरू धनगढीबाट आएको देखिन्छ, उहाँ (मृतक) मदन चोकबाट आफ्नो बाटो लाग्नुहुन्छ । ग्यास्ट्रिकको औषधी लिएर आफ्नो घर जाँदै गर्दा घटना भएको देखिन्छ’ प्रहरी अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘पर्स भेटिएको छ । मोबाइल भेटिएको छैन ।’
शव भेटिएको नजिकै उनको पर्स झरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले समेत जानकारी दिए । तर, पर्समा पैसा भने छैन । कलौनीले प्रयोग गर्दै आइरहेको मोबाइल भने अझै फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त मोबाइलको खोजी थालेको छ।
‘पर्स झरेको अवस्थामा भेटिएको छ । पर्समा पैसा भने छैन’ प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘एउटा मोबाइल पनि भेटिएको छैन । हामी मोबाइल खोजी रहेका छौँ ।’
मृतक कलौनीको शरीरमा बाहिरी घाउचोट देखिएको छैन । शवको पोस्टमार्टम पछि भित्री केही कुरा थाहा हुने प्रहरीले जनाएको छ । ‘अहिले महाकाली अस्पतालमा पोस्टमार्टम भएको र त्यसको रिपोर्ट आएपछि केही तथ्यहरू बाहिर आउला’ प्रहरी प्रवक्ता डिएसपी जोशीले भने।
कलौनीको भेरी अस्पताल, नेपालगन्जका फरेन्सिक विज्ञहरू सहितको टोलीले पोस्टमार्टम गरेका छन् ।
नगर सभापतिको रहस्यमय मृत्युको घटना सार्वजनिक भएपछि गृह जिल्ला कञ्चनपुर पुगेका कांग्रेस नेता समेत रहेका गृहमन्त्री रमेश लेखकले निष्पक्ष रूपमा घटनाको सत्य तथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । घटना भएको स्थान गृहमन्त्रीकै निर्वाचन क्षेत्र हो ।
नेपाल विद्यार्थी सङ्घबाट राजनीति थालेका कलौनी पछिल्लो समय नगर सभापतिसँगै महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए।





प्रतिकृया दिनुहोस्