April 18, 2026, Saturday
२०८३ बैशाख ५

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट : कुशलको अलराउण्ड प्रदर्शनमा फेन्ड्स क्लब डडेल्धुराको विजयी सुरुवात

धनगढी । अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा फ्रेडस क्लब डडेल्धुराले विजयी सुरुवात गरेको छ । शनिवारबाट धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमी(डिसीए) माथि डडेलधुराले ८ विकेटको जित हासिल गरेको हो । डिसीएले दिएको १ सय ३३ रनको लक्ष्य डडेलधुराले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

डडेलधुराका लागि कुशलले नट आउट रहँदै ५१ बलमा सर्वाधिक ८७ रन जोडे । विनोद भण्डारीले ४२ रन जोडे । धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले समान १ विकेट लिए । खेलका म्यान अफ द म्याच डडेल्धुराका कुशल भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । सुरुवाती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुर्याउनका लागि अमित श्रेष्ठले सर्वाधिक ३२ रन बनाए ।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ र कप्तान नारायण जोशीले १६ रन बनाए । रनिङ ट्रफीको रुपमा रहेको टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु १ लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ ।