‘सुखी, समृद्ध र समतामूलक गाउँपालिका बनाउछौ’

जनताका बीचमा गईराख्ने, जनताका पीरमर्काहरु सुनिराख्ने र त्यसमा आफुले सक्ने भूमिका खोज्ने पात्रका रुपमा चिनिन्छन केआईसिँह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही । उनको यही प्रबृतीकै कारण जनताले केआईसिँह गाउँपालिकामा उनको सिङ्गो प्यानललाई निर्वाचित ग¥यो । उनै शाहीसंग पहिलो गाउँ सरकार प्रमुख भएर चलाएको दुईवर्षको अनुभव र आगामी योजनाका बिषयमा ई-रैवारले कुराकानी गरेको थियो । प्रस्तुत छ सो कुराकानीको सम्पादित अंश ।
- लामो संघर्ष, उतारचढावपछिको परिवर्तीत संरचनाको स्थानीय सरकारको पहिलो प्रमुख भएर काम गर्दैहुनुहुन्छ । कस्तो छ यहाँको अनुभव ?
बेलाबेलाका तानाशाह, प्रतिगमनविरुद्ध लड्दै दीगो लोकतन्त्र स्थापित गर्ने लडाईमा देश रुमल्लिएको अवस्था थियो । त्यसमा पनि ४७ सालपछिको अवस्थामा केन्द्रीकृत राज्यव्यवस्थाबाट हामीजस्तो सुदूर, त्यसमा पनि दूरदराजका गाउँमा सिँहदरबारको विकास पुग्न सकेन भनेर संघीयता सहितको व्यवस्था अंगिकार गरिएको छ । हामी चर्चामा ल्याईएको शक्तिशाली स्थानीय सरकारको नेतृत्वमा छौ । यद्यपी चर्चा गरिएजस्तो अधिकार र स्रोत साधन त संघ र प्रदेश सरकारले दिएको त छैन् । तापनी जति छ त्यसलाई उपयोग गरेर हामी गर्दैसिक्दै स्थानीय सरकारको जग बसाउने काममा सक्रिय छौ । अझैपनि हामीले जग बसाउन नै धेरै बाँकी छ । सबैजसो कानुनहरु बनाउन सकिएको अवस्था छैन् । पूर्वाधारहरुको काम अझै सुरुवातको चरणमा छ । यी यावत कुराहरुका बीचमा हामी हाम्रो परिकल्पित योजनाको बाटोमा अग्रसर छौ । - केआईसिँहको पहिलो गाउँसरकारको प्रमुखले आफ्नो कार्यकालभरी परिकल्पना गरेको गाउँपालिका कस्तो छ ?
हामी सुरुवातमा छौ । पहिलो त हामीले गाउँपालिकाको जग बसाउनु नै बाँकी छ । पर्याप्त भौतिक पूर्वाधार बनाउनुछ । स्थानीय अवस्था सुहाउदा कानुनी व्यवस्थाहरु गर्न बाँकी छन् । यी सबै कुराहरुलाई सम्बोधन गरेर गाउँपालिका क्षेत्रमा रहेको कृषि, पशुपालन, स्वास्थ्य, पूर्वाधार बिकास, प्राकृतिक स्रोत र पर्यटकीय क्षेत्रको उचित सदुपयोग एबं विकास गरी सुखि, समृद्ध र समतामूलक गाउँपालिका बनाउने हाम्रो उद्देश्य हो । सोही अनुसार गाउँपालिकाका गतिबिधिहरु सञ्चालन गरिरहेका छौ । - गाउँपालिकाले हालसम्म चारवटा गाउँसभा र दुईवटा बजेटहरु कार्यान्वयन गरिसक्यो । त्यसमा तपाईको परिकल्पनालाइ सम्बोधन गर्ने योजनाहरु कसरी समेट्नुभएको छ ?
हामीले बिगतका बजेटहरुमा पूर्वाधारहरुमा बिशेष जोड दिएका छौ । यसबाहेक गाउँपालिकाको कार्यालय भवन निर्माण गर्नका लागि जमिन प्राप्तीपनि गरिसक्यौ । यसबाहेक कृषि योग्य जमिनको उपयोग गर्ने, पशुपालनलाई ब्यबसायिक बनाउने, पर्यटकीय क्षेत्रको संरक्षण र ब्यबस्थापन गर्ने, समाबेशी विकासमा जोड दिने, उद्यमशिलताको बिकास गर्ने एबं भौतिक पूर्बाधारको बिकास गरी गरिबी न्युनिकरण गनखालका योजनाहरुमा बजेट खर्च गरेका छौ । - आगामी आर्थिक वर्षमा कस्ता योजनाहरुले प्राथमिकता पाउछन त ?
नेपालको परिपेक्ष्यमा हेर्ने हो भने सरकारले जनतालाई कहिल्यै अपनत्व महशुस गराउन सकेको छैन् । दुई दशकअघिका स्थानीय निकायको अवस्था पनि त्यही थियो । अहिलेको संरचनामा आउदा हामीले परिवर्तीत राज्यव्यवस्था र लोकतन्त्रप्रतिको विश्वास जनताका कायम गराउन जरुरी देख्छु । यसकारण मैले स्थानीय सरकारलाई जनताप्रति अत्याधिक उत्तरदायी बनाउने प्रयास गरिरहेको छु । त्यसैले जनताको घरदैलोमा बेला–बेला पुगिरहन्छु । जसले जनताले अपनत्व महशुस गर्ने योजनाबारे मलाई ज्ञान छ । तीनै योजना मेरो प्राथमिकता हुन्छ । त्यसमा पनि दीगो विकासमा फाईदा पुग्ने, बिपन्न, गरिब, दलित र पिछडिएका समुदायको मागमा आधारित योजनाहरु निर्माण गर्दै उनीहरुको जीवनस्तर माथि उकास्ने योजनामा मेरो मुख्य प्राथमिकता हुन्छ । - बिपन्न, गरिब, दलित र पिछडिएका समुदायको जीवनस्तर उकास्ने त्यस्ता योजना के छन् ?
हामीले स्थानीय सम्भावना तथा परम्परागत सीपका आधारमा उनीहरुको आयआर्जनका क्षेत्रलाई बढावा दिने खालका कार्यक्रम शुरु गरेका छौ । यस्ता समुदायलाई कृषि तथा परम्परागत सीपमुलक कार्यमा लाग्न अभिप्रेरित गर्ने, तालिम तथा सामाग्रीहरु प्रदान गर्ने, यसैमा पनि दलित समुदायको जीवनस्तर उकास्नका लागि ‘दलितसंग अध्यक्ष’ भन्ने कार्यक्रम नै ससीप प्रवद्र्धन अभियान नै सञ्चालन गरेका छौ । सुकुम्बासीहरुलाई एकिकृत बस्तीका लागि कार्यक्रम तय गर्दैछौ । बिपन्नहरुलाई आयआर्जनका काममा अग्रसर गराउने खालका कार्यक्रमहरु हरेक बर्षको बजेटमा समेटिएका छन् । - सामाजिक विकासका सवालहरुमा केके गरिरहनुभएको छ ?
हाम्रो समाज सामाजिक विकासको दृष्टिकोणले निकै पछाडी छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा हामी नाजुक स्थितीमा छौ । विद्यालयको शैक्षिक गुणस्तर खस्कदो अवस्थामा छ । जसले हाम्रा नानीबाबुहरुको भविष्य अन्धकार त छ नै मुलूकको भविष्य नै त्यसले संकटमा पारेको छ । यसर्थ नमुना विद्यालय बनाउदै विद्यालयको गुणस्तर सुधारका योजनाहरुमा हामी छौ । हामी सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठन–पाठनलाई निरन्तर सबैजसो विद्यालयमा विस्तारमा जोड दिदैछौ । विद्यार्थीहरुलाई पढ्नेबानीको बिकास गर्न ‘किताबसंग बालक’, बिद्यालयको शैक्षिक गुणस्तर प्रति बिद्यालय ब्यवस्थापन समिति र अभिभावकहरुलाई जिम्मेवार बनाउन ‘व्यवस्थापन र सम्वन्वय मेरो जिम्मेवारी’ तथा ‘विद्यालयसँग अभिभावक’ जस्ता कार्यक्रम सञ्चालन गदैछौ ।
यस्तै स्वास्थ्य क्षेत्रमा जनताहरु सामान्य रोग बिरामका लागि पनि क्रृण काढेर उपचारका लागि बाहिर गएको पीडा मेरो मनमा पहिल्यै देखि गढेर बसेको थियो । त्यसमा अव गाउँमै एमबिबिएस डाक्टर ल्याएर सेवा शुरु गरेका छौ । यसरी स्थानिय तहको लगानीमा डाक्टर ल्याउने केआईसिह देशकै पहिलो गाउँपालिका बनेको छ । यसबाहे बेलाबेला स्वास्थ्य शिविरहरुमार्फत स्वास्थ्य सेवा दिईरहेका छौ । स्वस्थ जनशक्ति उत्पादन होस भनेर हामीले सामुदायिक विद्यालयका बिवद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिरहेका छौं । - अहिले सुशासनको सवाल देशव्यापी चर्चामा छ । स्थानीय तहमा चरम भ्रष्टाचार भएको जनप्रतिनिधिले ब्रम्हलुट गरिरहेको चर्चा छ । तपाईका तिर के छ ?
हामी नागरिकको सेवाका लागि जीवन समर्पित गरेका मान्छे हौ । जनताको हित हाम्रो पहिलो कर्तव्य हो । जनतालाई ढाँटेर, ठगेर हामीले लिने सुखसुविधाले हामीले पोल्छ भन्ने मलाई लाग्छ । तसर्थ मैले आफै फजुल खर्चमा शुन्यता ल्याउने प्रयास गरेको छु । तपाईले देख्नुभएको छ अन्य स्थानीयतहका प्रमुखले महंगा गाडी चढेका छन् मैले अहिलेसम्म खरिद गरेको छैन् । बरु त्यो रकम जनताको विकासमा खर्चेको छु । गाडीघोडा, भ्रमण, मनोरञ्जन तालिम गोष्ठीका नाममा हुने खर्च मैले पूर्ण रोकतोक गरेको छु । विकासका योजनामा हुनसक्ने भ्रष्टाचारमा सबै चनाखो छौ । योजना छनोट भइसकेपछि उपभोक्ता समितिका पदाधिकारी, स्थानिय, कर्मचारीलाई संगै बसाएर प्राबिधीकलाई आफ्नै मोटरसाइकलमा बोकेर टोलटोलमा गई कसैले पनि गाउपालिकाका योजनाको काम गर्दा अतिरिक्त पैसा नदिनुहोला भन्दै सम्झाउने गरेको छु । - अन्तमा केही भन्नु छ ?
हामी गाउँपालिकाको विकासको जग बसाउने क्रममा छौ । धेरै कुराको प्रणाली अझै बसाउन सकिएको छैन् । हामी सबै स्थानीय तह सिक्ने र सिकाउने क्रममा छौ । यसर्थ यो अभियानमा सबै संगसंगै भएर हिड्न जरुरी छ । गाउँपालिका सञ्चालन गर्दैगर्दा चुनावी नतिजामा पछाडी परेका साथीहरु तथा पार्टीहरुको धारणा समेत समेटेर अघि बढ्ने प्रयत्न गरेको छु । यति हुदाहुँदैपनि कमीकमजोरी हुनसक्छन । त्यसलाई बुझेर असल नियतका साथ गरिएको काममा माफी दिदै गाउँपालिकालाई विकास गर्दै समृद्ध बनाउने अभियानमा जुट्न सबैमा आग्रह गर्छु ।
प्रतिकृया दिनुहोस्