March 10, 2025, Monday
२६ फाल्गुन २०८१, सोमबार

अछाममा दुई किशोरीको मृत्यु प्रकरण : शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलासा

अछाम । अछामको ढकारी गाउँपालिका- ८ मा मृत फेला परेकी दुई किशोरीले शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ । अछाम प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा दुई किशोरीको हत्या गरिनुको मुख्य दुईवटा कारण खुलाएको हो ।

जसमा मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख छ । ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको मृत्यु प्रकरणमा शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका हुन ।

माघ ११ गते बाख्रा चराउन गएका उनीहरु भोलिपल्ट मृत फेला परेका थिए । प्रहरीले दुई किशोरीको हत्या प्रकरणमा १५ र १७ वर्षका दुई जना बालक पक्राउ गरेको थियो । मृतकका परिवारले दिएको किटानी जाहेरकी आधारमा पक्राउ परेका १७ र १५ वर्षका दुईजना किशोरले उनीहरुको हत्या गरेको बयान दिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरीले उनीहरुको परिवर्तित नाम  (६९ मंगलसेन ७३) र (६९ मंगलसेन ७६) राखेको छ । बालक भएकाले उनीहरुको नाम नखुलाइएको अछामका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतक इशरा परिवर्तित नाम ६९ मंगलसेन ७३ को प्रेमिका र मृतक सरस्वती खड्का परिवर्तित नाम ६९ मंगलसेन ७६ को प्रेमिका रहेको खुलेको छ । ती बालकहरुले यो कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।

परिवर्तित नाम ६९ मंगलसेन ७६ ले सरस्वतीसँग मायाको चिनो चुन्नी मागेका थिए । ‘उनले दिन अस्वीकार गरिन,’ प्रहरी नायव उपरीक्षक भण्डारीले भने, ‘सोही व्यक्तिले सरस्वतीलाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गरे । सरस्वतीले उनको त्यो प्रस्ताव पनि अस्वीकार गरिन् ।’

प्रहरीका अनुसार किशोरहरुले उपहारमा दुबै किशोरीहरुसंग सल माग्छन् । ईशरा सल दिन्छिन् । सरस्वती सल दिन अस्वीकार गर्छिन् । त्यही समय ईशरा बाख्रा फर्काउन जान्छिन् । यता १५ वर्षीय किशोर सरस्वतीसंग यौन प्रस्ताव राख्छन् । उनी प्रस्ताव अस्वीकार गर्छिन् । त्यही प्रतिशोधमा १५ वर्षीय किशोर उनको हत्या गर्छन । सरस्वती फर्केर आउदा ईशराको हत्या भईसकेको थियो । उनी हत्याका बारेमा गाँउमा भनिदिने भन्दै भाग्न थाल्छिन् । भाग्दै गरेकी ईशरालाई समातेर उनकै १७ वर्षीय प्रेमीले ढुंगाले हानेर हत्या गर्छन ।

घट्नाका बारेमा कसैलाई शंका नहोस भनेर उनीहरुले दुई किशोरको शव व्यवस्थापन गर्छन । प्रहरी घट्नास्थलको प्रकृति, लाशको मुचुल्का, किशोरीहरुको कल डिटेल, मृतकका परिवारको किटानी जाहेरीका आधारमा पक्राउ परेका किशोरहरुले दिएको बयानका आधारमा उनीहरुको हत्यामा संलग्न भएको निष्कर्षमा पुगेको हो ।

यही विषयमा विवाद भई दुई किशोरीको हत्या भएको प्रहरीको निष्कर्ष छ । पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रनाउ भण्डारीले बताए ।

जिल्ला प्रहरी कार्यालय अछामले शनिवार पत्रकार सम्मेलन गरी दुई किशोरीको हत्या प्रकरणका बारेमा जानकारी गराएको हो । घट्नाको अनुसन्धानका क्रममा प्रहरीले मृतक किशोरीहरुको मोवाईल कल डिटेलका आधारमा दुबै किशोरलाई अनुसन्धानको दायरामा ल्याएको थियो । दुबै किशोरीहरु मृत फेला परेको जंगलमा दुबै किशोरहरु देखिएका थिए । अनुसन्धानका क्रममा किशोरीहरुसंग सम्पर्क भएपछि उनीहरु जंगलमा गएको खुलेको छ । उनीहरु प्रेमी–प्रेमिका अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।