April 18, 2026, Saturday
२०८३ बैशाख ५

अर्जुन ट्रफी टी-२० आजदेखी, उद्घाटन खेल डिसिए धनगढी र फेन्ड्स क्लब डडेल्धुराबीच हुदै

धनगढी । धनगढीमा आजदेखी अर्जुन ट्रफी टी–२० राष्ट्रिय प्रतियोगिता सुरु हुने भएको छ । माघ १९ गते देखी २८ गते सम्म धनगढीमा अवस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने भएको हो ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका अग्रज स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गरिने अर्जुन ट्रफी टी–२० फर्म्याटको प्रतियोगिता हो। प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाउँदै छन्।

टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली, र बोष्टन क्रिकेट झापा छन्।

समूह ‘बी’ मा सिवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँ, र न्यु होराइजन बुटवल रहेका छन्। उद्घाटन खेल आज डिसिए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुराबीच हुनेछ। 

झण्डै २० लाख नगद पुरस्कार राशिको प्रतियोगिताको विजेताले १० लाख नगद र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख नगद पाउनेछन्। उत्कृष्ट खेलाडीलाई १ लाख नगद र उत्कृष्ट ब्याट्सम्यान, बलर, तथा उदयमान खेलाडीलाई जनही ५०/५० हजार रुपैयाँ प्रदान गरिनेछ। हरेक खेलका म्यान अफ द म्याचलाई १० हजार नगद पुरस्कार दिइनेछ। 

प्रतियोगितामा ए, बी, र सी तीन वटा क्याटेगोरीका खेलाडीहरू समावेश गरिने छन्। ए क्याटेगोरीमा नेपाली राष्ट्रिय टिमका खेलाडी, बी क्याटेगोरीमा यु–१९ टिम, राष्ट्रिय टिम ‘ए’, र प्रदेशस्तरीय सिनियर खेलाडी तथा सी क्याटेगोरीमा यु–१६, प्रदेश यु–१९ र यु–१६ टिमका खेलाडी समावेश हुनेछन्। 

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हालै निर्माण गरिएको अस्थायी प्यारा फिट पनि दर्शकहरूको सुविधाका लागि जडान गरिएको छ। प्रतियोगिताले धनगढीलाई क्रिकेटको राजधानीका रूपमा अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताको टिकट डिजिटल वालेट खल्ती एपमार्फत उपलब्ध हुने भएको छ भने प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडी वानमा हेर्न पाइनेछ। 

गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको यो प्रतियोगिता डिजिटल प्रविधिको माध्यमबाट अझ सहज र व्यापक बनाउनका लागि खल्ती एप टिकेटिङ पार्टनर बनेको हो। 

खल्ती एपबाट टिकट काट्ने दर्शकलाई टिकट बराबरको आकर्षक उपहार प्रदान गरिनेछ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्नका लागि भिआइपी टिकटको दर दुई सय र साधारण टिकटको दर एक सय रुपैयाँ तोकिएको छ।  प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोर्ट्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने छन्।