April 29, 2026, Wednesday
२०८३ बैशाख १६

कांग्रेस संसदीय दलको बैठक : संसद् अधिवेशनमा एकढिक्का भएर प्रस्तुत हुने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी संसद् अधिवेशनमा एक ढिक्का भएर जनताका मुद्दा उठाउने भएको छ । आइतबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा हिउँदे अधिवेशन, पार्टी र सरकारका काम कारबाहीका बारेमा छलफल भएको जानकारी दिएका हुन ।

‘आसन्न अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्नेमा छलफल भयो । बैठक भोलि पनि बस्छ’, खतिवडाले भने, ‘बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारका कामकारबाहीबारे धारणा राख्नुभयो त्यस्तै महामन्त्री गगन थापाले केही कुरा राख्नुभयो ।’

बैठकमा सरकारले राम्रा कामहरूको सुरुवात गरेको भन्दै यो गठबन्धनको सरकारलाई आगामी ८४ सम्म लैजानेबारे समेत छलफल भएको छ ।

त्यस्तै कांग्रस प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशका बारेमा विज्ञहरूले प्रकाश पारेको बताए । भोलिदेखि सांसदहरूले बोल्ने र नेताहरूले जवाफ दिने घिमिरेको भनाइ छ । 

बैठकमा गृहमन्त्री लेखकले एकल सरकार जस्तो सहज गठबन्धन सरकार नहुने भन्दै कम्परमाइज गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । 

‘एकल सरकार हुँदा जस्तो हुँदैन‚ गठबन्धन सरकार संवेदनशील हुन्छ भनेर उहाँले भन्नुभयो‚’ ती सांसदले भने‚ ‘यसलाई बिग्रन नदिने र सहकार्यमा रहेको दलसँग सम्बन्ध निर्धारण गर्नुपर्ने कुरा उहाँले गर्नुभयो । साथै उहाँले आफूले भनेको मात्र नहुने भन्दै कम्परमाइज गर्नुपर्ने धारणा राख्नुभयो।’

ती सांसदका अनुसार गृहमन्त्री लेखकले जति पनि काम भएका छन् सबै सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सरसल्लाह भएरै भइरहेको र सरकार ठिक गतिमा अघि बढिरहेको दाबी लेखको थियो ।

बैठकमा महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको अध्यादेशको सम्बन्धमा प्रष्टाएका थिए । पार्टीको आइतबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले सरकारले तुरुन्त काम गर्नुपर्ने भएकाले अध्यादेश ल्याएको बताएका थिए । 

‘विधेयकको हाउसबाट ल्याउन खोजेको हो तर‚ तुरुन्त काम गर्छु भन्दा काम गर्न पाउँछ र अध्यादेश ल्याउन पनि पाउँछ भनेर उहाँले भन्नुभयो‚’ बैठकमा सहभागी एक सांसदले भने । 

ती सांसदका अनुसार यसअघि माओवादी नेतृत्वमा एमाले र रास्वपा सरकार हुँदा यो अध्यादेश ल्याउने तयारी भएको बैठकमा ब्रिफिङ गरेका छन् । 

‘अहिले सरकार ढल्यो तर ओली‚ प्रचण्ड‚ रवि सँगै सरकारमा हुँदा यो अध्यादेश ल्याउने तयारी भएको थियो भनेर भन्नुभयो‚’ एक सांसदले भने । 

बैठकमा महामन्त्री थापाले अघिल्ला सरकारहरूले अध्यादेश ल्याउँदा सबैमा कांग्रेसले विरोध नगरेको पनि स्पष्ट पारेका थिए । 

‘यसभन्दा अघि अध्यादेश आउँदा हामीले विरोध गरेनौँ । वा प्रवाहको विषयमा यसभन्दा अघिको सरकारले पनि अध्यादेश ल्याउँदा हामीले विरोध गरेका थिएनौँ‚’ उनले बैठकमा भनेका थिए । 

महामन्त्री थापाले समितिमा विधेयकहरू होल्ड भएर बसेकोमा पनि असन्तुष्टि पोखेका थिए । यसका लागि समय सीमा तोक्ने गरी नियमावली संशोधनको तयारी भइरहेको उनको भनाइ थियो । 

यस्तै थापाले सबै दलहरूसँग सरसल्लाह गरेर तथा छलफल गरेर मात्र संविधान संशोधनको दिशामा सरकार अघि बढ्ने तयारीमा रहेको ब्रिफिङ गरेको पनि बैठकमा सहभागी अर्का सांसदले जानकारी दिए ।

बैठकमा सभापति शेरबहादुर देउवा र ऊर्जामन्त्री दीपक खड्काबिच सामान्य सवाल–जवाफ भएको छ । आफूले बोलेर हिँड्ने भन्दै मन्त्री खड्काले समय मागेपछि देउवाले जवाफ दिएका थिए । 

‘मेरो भोलि काम छ, आज बोल्छु भन्दै ऊर्जा मन्त्रीले भन्नुभयो‚’ ती सांसदले भने । जवाफमा सभापति तथा दलका नेता देउवाले मन्त्री पनि बन्ने अनि समय पनि नदिने भन्दै जवाफ फर्काएका थिए । 

‘सभापति देउवाले हाँस्दै मन्त्री पनि बन्ने समय पनि नदिने भन्दै भोलि सबै जना समयमा उपस्थित हुनु भनेर निर्देशन दिनुभयो‚’ ती सांसदले भने । 

आइतबारदेखि सुरु भएको कांग्रेस संसदीय दलको बैठक सोमबार दिउँसो १ बजे पुनः बस्ने छ ।