कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए, उपचारका लागि धनगढी ल्याइयो

धनगढी । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाएका छन् । बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीका अनुसार बुधबार बेलुका साढे ८ बजेको समयमा ड्युटीका क्रममा बिष्टले आफैंमाथि राइफलको गोली हानेर गम्भीर घाइते भएका हुन्।
गोली दाहिने कानभन्दा माथि लागेको छ। गोली लागेर जवान बिष्ट सिकिस्त बनेका छन् भने उनले एसएलआर राइफलबाट गोली चलाएको खुलेको डीएसपी जोशीले बताएका छन्। उनी सो समयमा हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा रहेका थिए ।
घटनापछि तत्काल घाइते जवान बिष्टलाई उपचारका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर रहेको छ।
तत्कालै घाइते बिष्टलाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्याइएका जवान बिष्टको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी घटनास्थल पुगेका थिए। उनले घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन्।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी घटनास्थल पुगेका थिए। उनले घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए।
यसअघि पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली हानेर आत्महत्याको प्रयास गरेका थिए। उनले पौष १२ गते आफैंलाई गोली हानेकोमा घाइते भएका थिए। उक्त घटनापछि न्यौपाने गम्भीर घाइते भएकोमा अहिले उपचाररत छन्।





प्रतिकृया दिनुहोस्