विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको हो : गृहमन्त्री लेखक
कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले विदेशी लगानी भित्र्याउन अध्यादेश ल्याइएको बताएका छन् । नेपाल प्रेस युनियन कंचनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री लेखकले सो कुरा बताएका हुन ।
विदेशी लगानी भित्र्याउन र देशभित्रै पनि लगानीको वातावरण बनाउन अध्यादेश ल्याइएको हो । ‘उद्योगी व्यवसायीहरूले लामो समयदेखि माग गर्दै आएको विषय समेटेर लगानीको वातावरण बनाउन अहिलेको अध्यादेश आएको ।’ उनले भने।
‘अध्यादेश नराम्रो छ भनेर कहीँ कतैबाट कुरा आएको छैन, उद्योगी व्यवसायीहरुले धन्यवाद नै दिएका छन्,’ आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखकले भने, ‘सदन आह्वान गर्ने बेला अध्यादेश आयो भनेर मात्रै विमति देखिएको हो, सरकार छिट्टै सदन बोलाउने तयारीमा छ, सदन चलेको पहिलो दिनमै अध्यादेश प्रस्तुत हुन्छ ।’
मन्त्री लेखकले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको समेत बताए । उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार गठबन्धन अगाडि बढ्ने बताए ।
‘अहिलेको गठबन्धनमा कुनै जटिलता छैन, बाहिर विभिन्न हल्ला सुनिन्छन्, त्यसमा कुनै सत्यता छैन,’ उनले भने, ‘सात बुँदे सहमति कार्यान्वयन गर्नमै हामी केन्द्रित छौं ।’ अहिलेको सरकार सुशासन, विकास र समृद्धिका लागि बनेकाले त्यहीअनुसार अगाडि बढिरहेको उनले बताए ।
मन्त्री लेखकले २०८४ सम्म अहिलेको गठबन्धन चल्ने बताए । उनले अहिलेको १८ महिना एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने र त्यसपछिको १८ महिना कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताए ।
प्रतिकृया दिनुहोस्