March 1, 2026, Sunday
२०८२ फाल्गुन १८

चार महिनापछि सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै, के छ कार्यसूची ?

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक चार महिनापछि आज बस्दै छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीका अनुसार पाँचौँ अधिवेशनको १३ औँ बैठक बिहान ११ बजे बोलाइएको हो ।

अघिल्लो बैठक बसेको चार महिनाभन्दा बढी समयपछि प्रदेश सभाको बैठक बस्न लागेको हो । यसअघि, प्रदेश सरकारले दोस्रो पटक प्रस्तुत गरेको बजेट पास गर्नका लागि गत असोज ६ गते बैठक बसेको थियो ।

त्यसपछि अनिश्चित समयका लागि स्थगित बैठक आज बोलाइएको हो । प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार बैठकमा विशेष समयमा समसामयिक विषयमा बोल्ने कार्यसूची रहेको छ ।

यसै गरी, रिक्त विषयगत समितिका सभापतिहरूको निर्वाचन मिति तोक्ने र विषयगत समितिका सदस्यहरू अदलबदल भएकाले त्यस्ता सदस्यहरूको नामावली सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयका प्रवक्ता जोशीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन ल्याउने समेत तयारी गरेको छ। विधायन समितिका सभापति दिवान सिङ विष्टले ऐन ल्याउन समितिले स्थानीय तहका जनप्रतिनिधि सँग सुझाव सङ्कलन गरेको र ऐन ल्याउने अन्तिम तयारीमा रहेको बताएका छन्।