रवि लामिछाने धरौटीमा रिहा, ६० लाख धरौटी माग्दा काठमाडौं जिल्ला अदालतले दियो ३ कारण

काठमाडौँ । सहकारी ठगी लगायतका मुद्दामा गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले लामिछानेले धरौटीबापत बैंक ग्यारेन्टी पेस गरेको जानकारी दिए । बैंक ग्यारेन्टी बुझाएर लामिछाने रिहा भएका हुन् ।
जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको थियो । लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतले लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा साठी लाख रुपैयाँ धरौटी माग गर्नुको तीन कारण दिएको छ।पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरी ठगी गरेको आरोप छ।
पहिलो, काठमाडौं जिल्ला अदालतले लामिछानेले ‘स्वेट सेयर लिएको’ नभई गोर्खा मिडिया प्रालिमा निवेदन दिई सेयर खरिद गरेको र उनी उक्त संस्थाको सेयर होल्डर एवं प्रबन्ध निर्देशक रहेको भनेको छ।
आदेशमा भनिएको छ – ‘रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रा.लि.का बिक्रीमा रहेको १,८०,००० सेयर खरिद गर्न अनुमति पाऊँ भनी निवेदन दिई सेयर लिएको देखिँदा निजले उक्त प्रा. लि. को सेयर खरिद गरिलिएको देखिई निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रा.लि.को सेयर होल्डर एवं प्रबन्धक निर्देशक समेत रहेको देखियो।’
लामिछानेले अदालतमा आफूले गोर्खा मिडिया नेटवर्कको सेयर खरिद नगरेको बरू स्वेट सेयर प्राप्त गरेको र राजीनामा दिई छाडेर निस्कँदा पैसा नलिई सेयर हस्तान्तरण गरेको बताएका थिए।
दोस्रो, काठमाडौं जिल्ला अदालतले लामिछानेले गोर्खा मिडियाको सेयर होल्डर हुनुअघि नै ग्लोबल आइएमई बैंकको खातामा हस्ताक्षर चल्ने व्यवस्था रहेको आधार प्रस्तुत गरेको छ। साथै, लामिछाने प्रबन्ध निर्देशक भएको बेलामा नै स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा पैसा गएको भनेको छ।
आदेशमा भनिएको छ – ‘गोरखा नेटवर्क मिडिया प्रा.लि.मा सेयर होल्डर एवं प्रबन्ध निर्देशक हुनुभन्दा अघि नै रवि लामिछाने समेतको हस्ताक्षरबाट खाता सञ्चालन गरी गोरखा नेटवर्क मिडिया प्रा.लि. को ग्लोबल आई.एम.ई. बैंकमा खाता खोली सञ्चालनमा ल्याएको, निज प्रबन्ध निर्देशक भएको बेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोरखा नेटवर्क मिडिया प्रा.लि.को सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखियो।’
तेस्रो, अदालतले रवि लामिछानेले काटेको चेकबाट ऋण भुक्तान गरेका कारणले उनलाई तत्काल कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको भनेको छ।
आदेशमा भनिएको छ – ‘रवि लामिछाने र गितेन्द्र बाबु राईको नाममा ऋण खाता खोली रु.४६,९८,०००/- Four Wheeler loan र रु.४६,४८,०००/- Eco Seven Seater Van Loan लिएको, प्रतिवादी रवि लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट रु.९०,१६,६६०/- स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ऋण भुक्तान गरेको, गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिँदा अहिले नै प्रतिवादी रवि लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था देखिएन।’
आदेशमा भनिएको छ










प्रतिकृया दिनुहोस्