May 10, 2025, Saturday
२७ बैशाख २०८२, शनिबार

राष्ट्रपतिसँग प्रधानमन्त्रीले गरे भेटवार्ता, अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलहरू सशङ्कित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । प्रधानमन्त्री ओलीले कानुन मन्त्री र मुख्यसचिवसहित राष्ट्रपति पौडेलसँग शुक्रबार अपरान्ह भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए । छलफलका अन्य विषयबारे जानकारी गराइएको छैन ।

संसदको हिउँदे अधिवेशन बोलाउन विपक्षी दलहरूले आग्रह गरिरहेका बेला सरकारले अधिवेशन बोलाउने कुनै सङ्केत गरेको छैन । अधिवेशन बोलाउन आलटाल गरेपछि अध्यादेश ल्याउन लागेको भन्दै विपक्षी दलहरू सशङ्कित बनेका छन् । विपक्षी दलहरू दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने तयारीमा छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि नै सरकारले अध्यादेश ल्याउने व्यापक चर्चा भएको थियो । तर त्यसवेला अध्यादेशको विरोध भएपछि सरकार पछि हटेको विपक्षी दलहरूले बताउँदै आएका छन् । यद्यपि प्रधानमन्त्री निकटस्थहरू अध्यादेश ल्याउने सरकारको तयारी नभएको दाबी गर्दै आएका छन् ।

आजै शुक्रवार साँझ सात बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।