सुदूरपश्चिम प्रदेशमा लेखा समूहका कर्मचारी आन्दोलनमा, पेन डाउनदेखि धर्ना दिनेसम्मको घोषणा

धनगढी । सुदूरपश्चिम प्रदेशमा लेखा समूहका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन र नियमावलीमामा लेखा तथा राजस्व समूहका कर्मचारीहरूलाई विभेद गरेको भन्दै आन्दोलित भएका हुन् ।
सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीको अध्यक्षतामा बसेको बैठकले वृत्ति विकासको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशसभाका लेखा अधिकृत बलदेव कापडीका अनुसार आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबार प्रमुख सचिव कमलप्रसाद पोखरेल, आर्थिक मामिलामन्त्री बहादुुरसिंह थापा र अर्थ सचिव झलकराम अधिकारीलाई ध्यानकर्षण पत्र बुझाइएको छ ।
‘२२ देखि २४ पुससम्म प्रदेशका ९ वटै जिल्लाका प्रदेश लेखा कार्यालयमा सबै जम्मा भएर छलफल गर्ने, २५ पुसदेखि पेन डाउन गरेर लेखाका कार्यालयमा धर्ना दिने कार्यक्रम छ,’ उनले भने, ‘आवश्यकताअनुसार आर्थिक मामिला मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिने निर्णयसमेत गरिएको छ ।’
सरकारले प्रदेश प्रशासन सेवा अन्तर्गतको सामान्य प्रशासन समूहको मात्रै वृत्तिविकास गर्ने गरी कानुन बनाएको आरोप लगाएका छन्। प्रदेश सभाबाट पारित भएको सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐनलाई कार्यान्वयन गर्न मन्त्रीपरिषद् बैठकले नियमावली समेत पारित गरिसकेको छ ।
लेखा अधिकृत कापडीका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले लेखा तथा राजस्व समूहको वृत्ति विकास रोकिने गरी ऐन र नियमावली जारी गरेको भन्दै लेखा समूहका कर्मचारीले आन्दोलन घोषणा गर्नुपरेको हो । उक्त ऐनमा प्रदेशमा समायोजन भएका जेष्ठ कर्मचारीहरुको बढुवा रोकेर कनिष्ठ कर्मचारीको मात्रै बढुवा गर्ने व्यवस्था राखिएको लेखा समूहका कर्मचारीको आरोप छ ।
प्रदेशमा लेखा समूहका एक सय ३८ जना कर्मचारी समायोजन भएर आएका थिए । तर, प्रदेश निजामती सेवा ऐनले वृत्ति विकासको ढोका बन्द गरेका कारण बढुवा नभएरै घर फर्किनुपर्ने बाध्यता रहेको लेखा समूहका कर्मचारीको गुनासो छ ।
‘प्रशासन सेवा लेखा समूहको उपसचिव तहमा एक जनाको दरबन्दी रहेको र प्रदेशमा समायोजन भएका लेखा अधिकृतहरू समान उमेर समूहका भएको कारण एक जना बढुवा भएर उक्त पदमा गएमा अन्य लेखा अधिकृतहरूले लेखा अधिकृत पदबाट अवकाश हुनुपर्ने देखिन्छ’ एक लेखा अधिकृतले भने, ‘दरबन्दी एउटा मात्रै भएपछि हाम्रो बढुवा नहुने भएको हो । हामीले दरबन्दी थप गरेर मात्रै नियमावली ल्याउन सरकारलाई आग्रह गरेका थियौँ तर, सरकारले चासो नदिएपछि हामीले आन्दोलनको घोषणा गरेका हौँ ।’
सुदूरपश्चिम प्रदेशमा लेखा समूहको उपसचिव नवौँ तहमा एक जनाको मात्रै दरबन्दी छ । लेखा अधिकृत ३० र सहायकस्तरमा एक सय ६० जना गरी एक सय ९१ जनाको दरबन्दी रहेको छ ।
प्रतिकृया दिनुहोस्