लेखराजको गृहपालिकाका ४६ जना पूर्वमाओवादीले छाडे एमाले, फर्किए माओवादीमै

धनगढी । नेकपा एमालेका ४६ जना संगठित सदस्यले पार्टीमा अपमानित भएको भन्दै राजिनामा दिएका छन् । एमालेका सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको गृहपालिका गोदावरीमा एमालेका ४६ जना संगठित सदस्यहरुले एमालेमा पटकपटक अपमानित हुनुपर्ने अवस्था आएको भन्दै पार्टीबाट राजिनामा दिएको पत्र सार्वजनिक गरेका हुन ।
एमाले गोदावरी नगर कमिटी सदस्य कल्पना बिक र पूर्वनगर कमिटी सचिवालय सदस्य रुपलाल बिक लगायतका ४६ जनाको हस्ताक्षरसहित नगर कमिटी अध्यक्ष समक्ष राजीनामा गरेका हुन्। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि आफ्ना नेता लेखराज भट्टसँगै एमालेमा गएकोमा आपसी लडाईका कारण टिक्न नसकिने उनीहरुले लेखेको राजीनामा पत्रमा उल्लेख छ।
पत्रमा आफूहरु माओवादी केन्द्रबाट नेकपा एमालेमा गएको र महासचिव शंकर पोखरेल लगायत केही नेताहरुले जनयुद्धको बारेमा लगातार प्रहार गरेपछि पार्टीमा बस्न आवश्यक नरहेको उल्लेख गरिएको छ ।
‘हामी माओवादी स्कुलिङबाट नेकपामा रहेका यहाँका अधिकांश कमरेडहरु तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीको लाइनलाई समर्थन ग¥यौं,’ पत्रमा भनिएको छ, ‘उहाँको बचाउ र पक्षमा सडकसम्म बहस मात्रै होइन अदालतले एमाले र माओवादी अलगअलग बनाइदिएपछि पनि हामी एमालेमै बस्यौ । यद्यपि अहिलेको एमाले नेकपाको नै निरन्तरता हो भन्ने हाम्रो बुझाइ हो । तर यहाँभित्र एमाले भएर बस्दा पनि हामीले पटकपटक अपमानित हुनुपर्ने, राजनीतिको रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मुल नेतृत्वकै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्पराभित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो ।’
यता नेकपा एमाले गोदावरी नगर कमिटीका अध्यक्ष सन्तोष सिंह भने राजीनामा पत्र आफूले पनि पाएको तर धेरै सदस्यको किर्ते हस्ताक्षर गरिएको बताउँछन् । ‘गोदावरी नगर कमिटी सदस्य कल्पना बिक र पूर्वनगर कमिटी सचिवालय सदस्य रुपलाल बिकले पार्टी छोडेको सत्य हो,’ उनले भने, ‘तर, अन्य धेरैले राजीनामा दिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । किर्ते हस्ताक्षर गरिएको छ । हामी पार्टीको धारणा आजै सार्वजनिक गर्छौं ।’
राजिनामा दिएका संगठित सदस्यहरुले पुनः माओवादीमै फर्किने समेत बताएका छन्। उनीहरुले तत्कालीन माओवादीले गरेको ठूलो क्रान्ति जनयुद्धलाई कसैले पनि इन्कार गर्न नसक्ने बताउँदै अहिलेको गणतन्त्र, संघीयता, समावेशिता सबै जनयुद्धकै जगमा आएको स्मरणसमेत गराएका छन्।
गोदावरी नगरपालिका–२ कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभामा एमालेका लेखराज भट्टलाई पराजित गर्दै कांग्रेस उम्मेदवार वीरबहादुर बलायर विजयी भएका थिए । पूर्व माओवादीका नेता रहेका भट्ट नेकपा विभाजन हुँदा एमोलेमै बसेका थिए।









प्रतिकृया दिनुहोस्