महोत्सवका लागि नगरपालिकाले जारी गर्यो तिन दिन विद्यालय बन्द गर्ने उर्दी

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवको लागि तिन दिन विद्यालय बन्द गर्ने उर्दी जारी गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बन्द गर्न निर्देशन जारी गरिएको हो ।
लम्कीचुहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले लम्की चुहा उद्योग वाणिज्य सङ्घको पत्रअनुसार स्थानीय बिदा दिएको भन्दै सूचना जारी गरेका हुन् ।
‘यही मंसिर ६ देखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरूको विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीद्वारा जारी सूचनामा भनिएको छ ।
महोत्सवको लागि विद्यालय बन्द गर्ने निर्णय गरिएपछि त्यसको विरोध हुन थालेको छ । सामाजिक सञ्जालमा शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने दायित्व रहेको नगरपालिकाले नै महोत्सव सफल बनाउन स्थानीय बिदा दिएको भन्दै आलोचना भइरहेको छ ।
मेयर सुशीला शाही अहिले वैदेशिक भ्रमणमा छिन् । उपमेयर जुना चौधरीले बिदा सम्बन्धमा आफूलाई जानकारी नरहेको बताइन् ।
‘मैले पनि सामाजिक सञ्जालमै हेरेर थाहा पाएको हुँ, हिजो साँझ ६ बजेसम्म म कार्यालयमै थिएँ । बिदा दिने निर्णय भएको छैन, कहाँबाट कसले निर्णय गर्यो, यो जानकारी छैन । म बुझ्दैछु’, उनले भनिन् ।
विज्ञान प्रदर्शनी रहेको र विद्यार्थीहरूको नृत्यहरू पनि रहेको हुँदा उद्योग वाणिज्य सङ्घको आग्रहपछि बिदा दिइएको वडा नम्बर ३ का अध्यक्षसमेत रहेका नगरपालिकाका प्रवक्ता लव शाहीले जानकारी दिए ।






प्रतिकृया दिनुहोस्