जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि चौधरी निर्विरोध भएकी हुन् ।
समन्वय समिति संयोजक चयन गर्न हुन लागेको उपनिर्वाचनका लागि डगौरा र भुल दुईजनाको उम्मेदवारी परेको थियो । नागरिक उन्मुक्तिकी उम्मेदवार डगौराले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिए ।
कैलाली जिससमा कांग्रेस र नाउपाको उम्मेदवारी परेको थियो । कांग्रेसलाई एमालेले समर्थन गरेको कारण चौधरीको जित निश्चित देखेपछि नाउपाले उम्मेदवारी फिर्ता लिएको हो ।
जिसस प्रमुखमा निर्वाचित भुल कैलाली गाउँपालिकाको वडा सदस्यमा निर्वाचित हुन् । जिसस प्रमुखका लागि नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका दलले उमेदवारी दिएका थिएनन् ।
जिसस प्रमुखको निर्वाचनमा कैलाली जिल्लाका १३ स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख गरी २६ मतदाता थिए ।
दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित पदमबहादुर कलेलको निधनपछि पद रिक्त थियो ।
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेको बाजुरा जिल्ला स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष, कञ्चनपुर, भीमदत्त नगरपालिका–६, डोटी पूर्वीचौकी गाउँपालिका–६, दार्चुला दुहुँ गापा–५ र बझाङ सुर्मा गापा–४ को वडाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।
स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षका उम्मेदवार थापा र विकको नाम फिर्ता
बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा (माओवादी केन्द्र) की उम्मेदवार राजुकुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सुनादेवी थापा भोटे (धामी) ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिएका छन् ।
गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराए पनि आज अन्तिम समयमा माओवादी केन्द्र र राप्रपाकी उम्मेदवारले फिर्ता लिएका हुन् । विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
रिक्त पदका लागि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (एमाले) गठबन्धन र नेकपा (एकीकृत समाजवादी) चुनावी प्रतिस्पर्धा हुने भएको छ । यहाँ २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार जोशीले एक हजार आठ सय १० मत ल्याउएकी थिइन् ।
उपनिर्वाचनमा हाल नौ मतदानस्थल र सात हजार चार सय ६० मतदाता रहेका छन् । मनोनयन दर्ता गराएका तीन दलका उम्मेदवारलाई आज नै चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





प्रतिकृया दिनुहोस्