धनगढीमा ३६ किलो चरेस बरामद

धनगढी । धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ । धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट वडा प्रहरी कार्यालयको प्रहरी टोलीले ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट प्लास्टिकसहित ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको जानकारी दिएका हुन ।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको हो । तर, चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् ।
परिचय नखुलेका उनीहरूको खोजी भइरहेको प्रवक्ता डीएसपी बोहराले बताए ।
एक किशोरी खैरो हेरोइनसहित डोके बजारबाट पक्राउ
कैलालीको धनगढीकी एक किशोरी खैरो हेरोइनसहित डोके बजारबाट पक्राउ परेकी छिन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ बडाराकी १७ वर्षीया किशोरी बुधवार खैरो हेरोइनसहित पक्राउ परेकी हुन्।
किशोरीलाई ७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी त्रिनगर र सशस्त्र सिमा सुरक्षा बल त्रिनगरबाट संयुक्त खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १० महिना १३ दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सन्तोष राना पक्राउ परेका हुन्।
फरार रहेका रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो।
६ लाख बढीको भन्सार छलीका सामान बरामद
कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान धनगढी–१ एल.एन. चोक, धनगढी–२ रामजानकी मन्दिर नजिक, धनगढी–३ चटकपुर, भजनी–३ तिरनिमा, भजनी–७ कुटी र भजनी–८ कांडा ढिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ६ लाख ४४ हजार २ सय मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको आलु, हरियो खुर्सानी, बदाम, एलईडी टिभी, कोट, पाईन्ट कपडा, लेहिंगा, सुटपिस, पाईन्ट, माछा, सिद्रा माछा, कस्मेटिक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा बुधवार फेला पारी नियन्त्रणमा लिएको हो।





प्रतिकृया दिनुहोस्