October 25, 2024, Friday
९ कार्तिक २०८१, शुक्रबार

जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छ : उपप्रधानमन्त्री पौडेल

वासिङ्गटन डिसी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा नेपालले गरेको बताए ।

विश्व बैंक र कोलम्बियाले संयुक्त रूपमा आयोजना गरेको जैविक विविधता तथा प्राकृतिक वित्तसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालको जलसम्पदा र प्राकृतिक विविधता संरक्षणमा चुनौती थपिएको बताए । 

उनले जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान रहे पनि जलवायुजन्य समस्याबाट आफ्नो देश प्रभावित भएकाले वातावरणमैत्री अन्तर्राष्ट्रिय कोषको सहज पहुँचका लागि अन्तर्राष्ट्रिय निकायलाई आग्रह गरे । 

मन्त्री पौडेलले जलवायु परिवर्तनका प्रभाव कम गर्ने उद्देश्यले स्थापित स्रोत साधनका संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।

त्येस्तै अमेरिकी उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको छलफलमा अर्थमन्त्री पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गरे।

नेपाल उद्योग वाणिज्य महासङ्द्धका अध्यक्ष चन्द्र ढकालले नेपालमा जलविद्युत् विकास तथा पर्यटन पूर्वाधार निर्माण क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले त्यसको उपयोग गर्न अमेरिकी लगानीकर्ताहरूलाई आग्रह गरे । 

छलफलमा बहुराष्ट्रिय कम्पनी गुगल, मेटा, कोकाकोलालगायत प्रतिष्ठित अमेरिकी कम्पनीका प्रतिनिधिको सहभागिता थियो । रासस